सुनसरी । करिब ३५ लाख रुपैयाँ लगानीमा हर्कमाया मादेन र उनका श्रीमान् सुवास मादेनल धरान ५ माथिल्लो देउरालीस्थित मंगल चोकमा ५ वर्षदेखि व्यावसायिक रूपमा बंगुर पालन गर्दै आएका छन् । तर, एक सातामै दुई दर्जन बंगुर मरेपछि उनीहरू यस पटक भने झस्किएका छन् ।

 

जेठ दोस्रो सातादेखि मंगलबारसम्ममा ५० किलोदेखि अढाई सय किलोसम्मका १० बंगुर भटाभट मरे । मादेन दम्पतीले पाठापाठीको त हिसाबै राखेका छैनन् । मरेकामध्ये ३ वटा ठूला बंगुरको मात्र इन्स्योरेन्स गरेका थिए । मासुको प्रयोजनका लागि पालिएका बंगुर किन खोरमै मर्न थाले उनलाई पनि थाहा छैन । उनका खोरमा भएका अरु ७० वटा बंगुर कसरी बचाउने भन्ने अर्को चिन्ता पनि थपिएको छ ।

 

त्यसो त धरानको बगरकोटनजिकै झोडापाटामा सरस्वती लिम्बूले १२ वटा बंगुर पालन गरेकोमा दुई दिनमै तीन वटा मरिसकेका छन् । लिम्बूले भनिन्, ‘सोमबार र मंगलबार तीन वटा मरे । एउटा करिब १ सय ३० केजीको, अर्को १ सय केजीजतिको र अर्कोचाहिँ ८० केजीको भएको थियो । मूल्यमा गणना गर्दा मलाई दुई दिनमै करिब डेढ लाख रुपैयाँ घाटा भएको छ । इन्स्योरेन्स पनि गरेको थिएन ।’

 

मादेन र सरस्वती मात्र होइन, धरानका अन्य व्यवसायी पनि बंगुर मर्ने समस्यासँग जुधिरहेका छन् । केहीले त बंगुर मरे पनि भन्ने गरेका छैनन् । फर्ममा बंगुर मरेको भनेर सार्वजनिक गर्दा मासु व्यवसायी र उपभोक्ताहरुले बंगुरको मासु नकिन्ने र नखाने भएकाले बंगुर मरेको विषय लुकाउने गरेका हुन् ।

 

घरैमा सानो खोर बनाएर बंगुर पाल्दै आएकी धरान १५ एभरेस्ट लाइनकी शान्ति लिम्बूले करिब ८० हजार रुपैयाँको दुईवटा बंगुर मंगलबार मरेको बताइन् । उनले भनिन्, ‘बंगुर भर्खर बढ्दै थियो । अचानक चारो खान छोड्यो । पशु डाक्टर ल्याएर सुई पनि लगाएको तर मर्‍यो ।’

 

किन मरिरहेका छन् धरानमा बंगुर ?
कालो बंगुरको मासु उत्पादन हुने ब्रान्ड बनाएको धरानका घर र व्यावसायिक फर्ममा पालिएका बंगुर मर्न थालेको गत वैशाखदेखि नै हो । हालसम्म उपमहानगरपालिकाको पशुसेवा विभागले भने कुनै ल्याब परीक्षण गरेको छैन ।

 

विभागसँग धरानभरी यो दुई महिनाको अवधिमा कति लाख रुपैयाँ बराबरको बंगुर मरे भन्ने कुनै तथ्यांक राखेको छैन । तर अधिकांश व्यवसायीले भने बंगुर मर्न थालेको बताउने गरेका छन् ।

 

अधिकांश फर्म सञ्चालकहरुले अफ्रिकन स्वाइन फ्लुको संक्रमण फैलिएको बताइरहेका छन् । तर, धरान उपमहानरपालिकाका पशु विकास अधिकृत महेन्द्र पैकरा र पशुचिकित्सक डा वृखराज राई भने अफ्रिकन स्वाइन फ्लुको संक्रमण धरानमा नफैलेको दाबी गर्दै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।