बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुवरले पुष्टि गरेका छन् ।

 

बिर्तामोड ५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै नगरभित्र प्रवेश गर्न खोजेपछि उनीहरुसहित ११ जनालाई नियन्त्रणमा लिएको डिएसपी कुँवरले जानकारी दिए ।

 

पक्राउ पर्नेमा अध्यक्ष प्रकाश शिवकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सहकोषाध्यक्ष राधिका चुँडाल हुमागाई, व्यवसायीहरु सन्तोष उप्रेती, कल्पना पुरी न्यौपाने, संगिता न्यौपाने, कल्पना खरेल निरौला, नरबहादुर बिक, एकता कडरिया बिष्ट, तुलसा तामाङ र निरु अधिकारीलगायत रहेका छन् ।

 

दुई दिनअघि मात्रै सर्वदलीय बैठकका क्रममा वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले मेयर पवित्रा महतारा प्रसाईमाथि दुव्र्यवहार गरेका थिए भने एमाले अध्यक्ष सुवास भट्टराईलाई हातपातको प्रयास गरेका थिए । सोही क्रममा न्यौपानेको नेतृत्वमा व्यापारीसमेतले नगरका विभिन्न संरचनामा तोडफोडको प्रयास गरेको थियो ।

 

वाणिज्य संघको नाममा गरिएको आन्दोलन अराजक भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइन्छ । बुधबारे हटियाको समस्या समाधानका लागि नगरपालिकाले कार्यदल गठन गरिसकेको छ । नगरउपप्रमुख नगेन्द्र संग्रौलाको संयोजकत्वमा बनेको कार्यदललाई १ महिनामा प्रतिवेदन बुझाउन म्याण्डेड दिइएको छ ।

 

यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले पक्राउ गरिएका आफ्ना अध्यक्षसहित सबैलाई बिना शर्त तुरुन्त रिहा गर्न माग गरेको छ । संघका महासचिव अर्जुन मैनाली र जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराईले एक प्रेस विज्ञप्ति जारी गरी सबैलाई बिना शर्त तुरुन्त रिहा गर्न माग गरेका हुन् ।

 

व्यवसायीको पक्षमा आफ्ना जायज माग राख्दा राख्दै प्रहरीले संघका अध्यक्ष शिवाकोटीलगायतका व्यवसायीहरुलाई पक्राउ गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै व्यवसायीले विद्युत मिटर माग्दा त्यसलाई सम्वाद र सहमतिको तर्फबाट निराकरण गर्नुको साटो प्रहरी प्रशासनले धरपकड गरेर निन्दनीय कार्य गरेको जनाइएको छ ।

 

पक्राउ परेका सबैलाई तत्काल रिहा नगरे आन्दोलन थप सशक्त बनाउने बुधवार बसेको आकस्मिक बैठकले निर्णय गरेको उनीहरुले चेतावनी दिएका छन् ।