मोरङ । मोरङमा अवैध उत्खनन् गरी नदीजन्य सामग्री गिट्टी, बालुवा ढुङ्गा बोक्ने ९ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । सरकारले तीन महिना नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको बेलामा मोरङको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।

 

मोरङको केराबारी ८ स्थित खदम खोला, केराबारी ७ स्थित मुगु खोला, सुन्दरहरैचा ५ स्थित बुढीखोला र बेलबारी २ स्थित लोहन्द्रा खोला दोहन भइरहेको छ । सो खोलाबाट अवैधरुपमा गिट्टी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ९ वटा सवारी नियन्त्रणमा लिएको जनाएकाे छ ।

 

प्रहरीले चार वटा टिपर, चार वटा ट्याक्टर, एउटा जेसिवी र तीन जना चालकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ९ वटै सवारी साधनसहित चालकहरूलाई आवश्यक कारबाहीको लागि बेलबारी नगरपालिका र केराबारी गाउँपालिकामा बुझाइदिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।