शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा सोमबारदेखि औपचारिकरुपमा अर्जुनधारा सपि मार्ट सञ्चालनमा आएको छ । शनिश्चरे बजार झापाकै ऐतिहासिक बजार हो ।

 

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले मार्टको उद्घाटन गर्दै नगर समृद्धिका लागि चालिएको कदममा मार्टको सञ्चालनले टेवा मिलेको बताए । मार्ट सञ्चालनमा आएपछि उपभोक्ताको समयको बचतसँगै थोरै भए पनि सस्तो मूल्यमा गुणस्तरीय उपभोग्य सामग्री उपलब्ध हुनेमा उनले विश्वास व्यक्त गरे ।

 

शिक्षा, स्वास्थ्य, समाजसेवालगायतका क्षेत्रमा आबद्ध १८ जना व्यवसायी तथा दुई वटा संस्था अरुणोदय साकोस र शनिश्चरे सुपारी सहकारी संस्थाको प्रारम्भिक लगानी तीन करोड रुपैयाँको लागतमा मार्ट सञ्चालन गरिएको सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद नेपालले जानकारी दिए ।

 

झापाको अर्जुनधारा ८ स्थित बुढाथोकी कम्प्लेक्समा सेवा सुरु गरेको मार्टमा कस्मेटीक, होम ग्लोरी, पूजा सामग्री, स्टेसनरी र दैनिक उपभोग्य घरायसी सामग्री पाइने बताइएको छ ।

 

ग्राहकहरुलाई एउटै छाना मुनिबाट उपयुक्त दरमा सम्पूर्ण घरायसी तथा उपभोग्य सामग्रीहरु बिक्री वितरण गर्ने तथा ऐतिहासिक बजार शनिश्चरे बजारको प्रबद्र्धनसँगै राष्ट्रिय अर्थतन्त्रमा योग्दान पु¥याउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको सञ्चालकको भनाइ छ ।

 

मार्ट सञ्चालक समितिका अध्यक्ष नेपालको अध्यक्षता र नगरपालिकाका प्रमुख गोम्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शनिश्चरे माध्यमिक विद्यालयका पूर्व शिक्षक लोकनाथ पौडेलले मन्तव्य राखेका थिए ।

 

समितिकी उपाध्यक्ष राजकुमारी शेर्पा राईले स्वागत गरेको कार्यक्रममा पूर्व वन राज्यमन्त्री वीरमणि ढकाल, अर्जुनधारा नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार रानालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन मार्टका अर्का सञ्चालक बालकृष्ण दाहालले गरेका थिए ।