पाँचथर । सुख्खाग्रस्त क्षेत्रका रूपमा परिचित पाँचथरको कुम्मायक गाउँपालिकामा हरियाली फर्काउन बोटबिरुवा रोपण तथा नगदेबाली विस्तार कार्यलाई अघि बढाइएको छ । यसका लागि गाउँपालिकाले बोटबिरुवाको नर्सरी स्थापना, बर्सेनि नगदेबालीका बेर्ना उत्पादन र बीउबिजन खरिदमा स्थानीयबासीलाई सहयोग गर्दै आएको छ ।

 

सुख्खा प्रभावित तथा बोटबिरुवाविहीन क्षेत्रलाई हरियालीमा रूपान्तरण गर्न गाउँपालिकाले पक्की पोखरी निर्माण गरेर पानी जम्मा गरी नर्सरी तथा बेर्ना उत्पादन गर्दै आएको छ । यहाँ उत्पादित बिरुवा गाउँपालिकाबासीलाई रोपणका लागि निःशुल्क उपलब्ध गराइएको छ । गाउँपालिकाको स्थापनापश्चात् कुम्मायक १ स्थित सेर्जेम्बा सामुदायिक वनमा बर्सातको पानी सङ्कलन गर्न पक्की पोखरी स्थापना गरिएको छ ।

 

बर्सातको पानीले मात्रै पर्याप्त नभएपछि पाइपबाट पानी ल्याई पोखरीको सेर्जेम्बा क्षेत्रमै नर्सरी स्थापना गरिएको छ । सोही क्षेत्रमा विगतका वर्षबाटै अकबरे खुर्सानीका बेर्नासमेत उत्पादन भइरहेको छ । यहाँ स्थापना गरिएको नर्सरीमा आर्थिक वर्ष २०७४/०७५ तथा आर्थिक वर्ष २०७५/०७६ मा बर्सेनि ५० हजारका दरले विभिन्न प्रजातिका बोटबिरुवा उत्पादन गरी वितरण गरिएको थियो ।

 

आव २०७५/०७६ मा डिभिजन वन कार्यालय पाँचथरले समेत यही स्थानमा ४० हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी वितरण गरेको थियो । दुई आर्थिक वर्षको बजेटबाट टिक, खोटेसल्ला, रुद्राक्षलगायत आठ प्रजातिका बिरुवा उत्पादन गरी गाउँपालिकाबासीलाई वितरण गरिएको कुम्मायक १ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए ।

 

खोटे सल्ला रुखो पाखाबारी, खोल्सीलगायत क्षेत्रमा रोपण गर्न उपयुक्त हुने भएपछि गाउँपालिकाबासीको मागबमोजिम गाउँपालिकाले खोटेसल्लाका बिरुवा उत्पादन गरी अहिले धमाधम वितरण गरिरहेको छ । पचास हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएकोमा करिब ३५ हजार बिरुवा उम्रिएको र वितरण कार्य धमाधम भइरहेको वडाध्यक्ष लावतीले जानकारी दिए। यस वर्ष उत्पादित खोटे सल्लाका बिरुवा गाउँपालिकाका पाँचवटै वडाका विशेषतः नाङ्गा पाखा तथा बाँझो जमिनमा रोपण गर्न थालिएको छ ।

 

सुख्खाले प्रभावित भएपछि यहाँका सर्वसाधारण बसाइँ सर्ने तथा जग्गा जमिन बाँझै रहने क्रम बढ्दो छ । यसरी बाँझिएको जमिनमा खोटे सल्लासहित गाउँपालिकाले उत्पादन गरेका बोटबिरुवा रोपणका लागि उपयुक्त भएको किसानको भनाइ छ ।

 

\गाउँपालिकाले स्थापनाकालदेखि नै यस क्षेत्रमा नगदेबाली विस्तारका लागि समेत सहयोग गर्दै आएको छ । गत आव मात्रै दुई लाख वटा अकबरे खुर्सानीका बिरुवा उत्पादन गरी वितरण गरिएको वडाध्यक्ष लावतीले बताए ।