झापा । झापा प्रहरीले मेचीनगरको काँकडभिट्टाबाट डेढ लाख मूल्यभन्दा बढीको लत्ताकपडा र जुत्ता बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतबार मेचीनगर नगरपालिका ६ स्थित गैरीगाँउ क्षेत्रबाट उक्त सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार आइतबार बिहान साढे १० बजे भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको साडी, कुर्था सुरुवाल, कुर्थी, लेगिज, सर्टको थान कपडा गरी एक लाख ६ हजार मूल्यबराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
यस्तै, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बेलुका ५ बजे मेचीनगर ६ मा भारतबाट भन्सार छलेर ल्याएको ६० हजार मूल्यको स्पोटर्स जुत्ता बरामद गरेको छ । बरामद गरिएको लत्ताकपडा र जुत्तालाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको डीएसपी पाठकले बताए ।