ताप्लेजुङ । ताप्लेजुङ फावाखोलाका मनोज भट्टराई र नवीन डाँगीले चार वर्षअघि रेन्बो ट्राउट माछापालन सुरु गरे । त्यस बेलासम्म रेम्बे ट्राउट माछाको बारेमा सुनेका मात्र उनीहरू अहिले सफल माछा व्यावसायी बनेका छन् ।
नगरपालिकाले दिएको ६ लाख बिउ पुँजीमा केही थपेर, गाउँका साथीभाइसँग मिलेर मनोज र नवीनले सुरु गरेको माछापालनबाट राम्रै आम्दानी हुन थालेको छ । अहिले महिनाको झन्डै चार लाख रुपैयाँको माछा बिक्री गर्दा सबै खर्च कटाएर दुई लाख रुपैयाँ बचत हुने नवीनले बताए । अहिले पनि बेच्नका लागि झन्डै १० हजार माछा रहेको र १० हजार भुरा हुर्किँदै गरेको अर्का व्यवसायी मनोजले जानकारी दिए ।
ट्राउट माछा प्रतिकेजी एक हजार ५० रुपैयाँमा बिक्री भइरहेको र झापा, इलाम, पाँचथरदेखि किन्ने मान्छे आउँदा बजारको समस्या नभएको उहाँको भनाइ छ । मनोज र नवीनसहित राधिका भट्टराई, मनिषा भट्टराई, देवेन्द्र भट्टराई, कविता कँडेल र डम्बर विष्टको १६ लाख रुपैयाँको लगानी अहिले झन्डै ७० लाख रुपैयाँ पुगेको छ ।
उनीहरूले माछा मात्र बेच्दैनन् । गएको वर्षदेखि ट्राउट माछाको भूरा उत्पादन पनि सुरु भयो । यस वर्ष सोचेको जस्तो उत्पादन नभएको नवीनले गुनासो गर्नुभयो । यस वर्ष भने तीन लाख भुरा उत्पादन गर्ने लक्ष्य लिएको उनले सुनाए । भूराको बजार पनि राम्रै रहेको र अहिले तेह्रथुम, ताप्लेजुङ र पाँचथरसम्म भूरा व्यापार भइरहेको उनले बताए । उनका अनुसार भूरा प्रतिगोटा आठदेखि ४० रुपैयाँसम्ममा बिक्री हुन्छ ।
ट्राउट माछाबारे सुरुमा धेरैलाई थाहा नभएको तर यसको विशेषता र फाइदाबारे व्यापक प्रचार भएसँगै धेरैलाई खाने बानी लागेको उनले बताए । माछाका लागि चारो काठमाण्डौबाटै ल्याउनुपर्ने अवस्था रहेको उनले गुनासो गरे ।
माछा छिटो बढ्न १६ देखि १८ डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ । भूरा निस्कन नौदेखि १४ डिग्री सेल्सियस तापक्रम चाहिन्छ । ‘यहाँको हावापानी अनुकूल भएकोले पनि माछापालन राम्रो छ । सुरुमा दुई वटा पोखरीबाट सुरु गरेको व्यवसाय अहिले ६ जटा पोखरीमा पुगेको छ’, मनोजले भने ।
ट्राउट माछा मुटु रोगीका लागि फाइदाजनक मानिन्छ । काँडा कम र नरम भएका कारण सबै उमेरका मानिसका लागि खान उपयुक्त मानिन्छ । उज्यालो अनलाइनबाट