पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ तीनभँगालेका कृषकले अर्गानिक उखु खेतीबाट वार्षिकरुपमा करोडभन्दा बढीको आम्दानी गर्दै आएका छन् । तर, स्थानीय सरकारले कृषकहरुलाई सहयोग नगरेको उनीहरुको गुनासो छ ।

 

फिदिम नगरपालिका ४ सारन्ता र हिलिहाङ ७ भारपामा गरी अहिले १० जना कृषकहरुले २ सय क्विन्टल बढीको सख्खर उत्पादन गरी वार्षिक २ करोडभन्दा बढीको सख्खर र खुदो बिक्री गर्दै आएका छन् ।

 

पाँचथरको फिदिम नगरपालिका ४ तीनभँगालेका कृषकले अर्गानिक कालो ग्यामरा उखु खेतीबाट वार्षिक करोडभन्दा बढीको आम्दानी गर्दे आएका छन् । फिदिम नगरपालिका ४ कै गढीका मदनकुमार पोख्रेलले उखु खेतीबाट सबै खर्च कटाएर वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

 

३० रोपनी जग्गा लिजमा लिइ वार्षिक ६० हजार रुपैयाँ रकम तिरेर उखु खेती गर्दा लागेको सबै खर्च कटाएर पोख्रेलले वार्षिक २० क्विन्टलसम्म सख्खर बनाई १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका हुन् । मदन पोख्रेलमात्र होइनन् यस क्षेत्रका अन्य कृषकले समेत उखुबाट बनेको सख्खर बिक्री गरी वार्षिक २ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

 

यस क्षेत्रमा लामो समयदेखि उखु खेती गर्दै आएका ७० वर्षीय गंगराम पोख्रेलले पनि वार्षिक ४ क्विन्टलसम्म खुदो, सख्खर बनाई २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । सख्खर प्रतिकेजी सरदर ५ सय रुपैयाँ र खुदो सरदर ४ सय रुपैयाँ केजीका दरले बिक्री हुँदै आएको छ ।

 

यस क्षेत्रमा उत्पादन भएको अर्गानिक सख्खर पाँचथरको सदरमुकाम फिदिम, झापा, तेह्रथुम र काठमाडौंसम्म पुग्ने गरेको छ। उखुबाट बनाइएको सख्खरबाट जण्डिस, पायल्स र पत्थरी रोगका लागि अचुक औषधिको रुपमा काम गर्ने स्थानीय बताउँछन्। थोरै जग्गालाई पनि अधिकतम रुपमा उपयोग गर्न सकियो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यस क्षेत्रका कृषकले दिएको स्थानीय धनपत्ति चापागाई बताउँछन् ।

 

५ वर्षको दौरानमा कृषि ज्ञान केन्द्र फिदिम पाँचथरबाट उखु पेल्ने मेसिन प्राप्त गरेको बाहेक स्थानीय सरकारले कृषकहरुलाई खासै सहयोग नगरेको उखु कृषकको गुनासो छ । फिदिम नगरपालिका ४ सारन्ता र हिलिहाङ ७ भारपामा गरी अहिले १० जना कृषकहरुले २ सय क्विन्टलभन्दा बढीको सख्खर उत्पादन गरी वार्षिक २ करोडभन्दा बढीको सख्खर र खुदो बिक्री गर्दै आएका छन् । इमेज खबरबाट