बिर्तामोड । झापाका दुईजना मिटरब्याज पीडितहरूले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापाले मिटरब्याज पीडितहरूबाट उजुरी आव्हान गरेसंगै जिल्लाका दुईजना पीडितहरुले उजुरी दिएका हुन् ।

 

जिल्ला प्रशासन कार्यालय भद्रपुरमा एकजना र इलाका प्रशासन कार्यालय दमकमा अर्का पीडितले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेन्द्र भट्टराईले जानकारी दिए । पहिलो दिन दुईजनाको उजुरी परेको उनले बताए ।

 

गृह मन्त्रालयबाट साउन २८ गते जारी भएको सूचनाबमोजिम झापा जिल्लामा पनि मिटरब्याजीहरूबाट पीडित व्यक्तिहरू भए भदौ ६ गतेभित्र मिटरब्याजीहरूले गरेको अपराध र शोषणको व्यहोरा खुलाई जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा ईलाका प्रशासन कार्यालय दमकमा उजुरी दर्ता गराउन जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरेको थियो ।

 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेन्द्र भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश अधिकारी र ईलाका प्रशासन कार्यालय दमकका प्रशासकीय अधिकृत सूर्यमान बानियालाई उजुरी दिन सकिने सूचनामा जनाइएको छ । दुईवटा उजुरी दर्ता भए पनि प्रहरी प्रशासनले उजुरीकर्ता र आरोपितका बारेमा खुलाएको छैन ।

 

मिटरव्याजीहरूलाई कार्वाही गर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई बोलाएर मिटरव्याजीहरूलाई कडा कार्वाही गर्न निर्देशन दिएपछि गृह मन्त्रालयले शुक्रबार नै एक सूचना प्रकाशित गरी मिटरव्याजीहरूलाई कडा कार्वाही गर्न निर्देशन दिएको हो ।

 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा मिटरव्याजको धन्दाले सामाजिक र आर्थिक अपराध बढाएको भन्दै सर्वसाधारणलाई मिटरव्याजमा पैसा दिएर अचाक्ली व्याज असुल गर्नेलाई पक्राउ गरी मुद्दा चलाउन सांसदहरुले माग गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्रीले गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।

 

मिटरव्याजीहरूले कानूनविपरीत मिटरव्याजमा पैसा लगाएर त्यसवापत चर्को व्याज असुल गर्ने, चल, अचल सम्पत्ति हडप्नेदेखि लिएर यौन शोषण गर्नेसम्मका अपराध गर्ने गर्दछन् । गृहले त्यस्ता प्रकृतिका अपराधको सूचना स्थानीय जिल्ला प्रशासनलाई दिन आम नागरिकहरूलाई आग्रह गरेको हो ।