बिर्तामोड । झापामा मिटरव्याजीविरुद्ध २४ वटा उजुरी परेको छ । मिटरव्याजीबाट पीडित भएकाहरुले धमाधम उजुरी दिएका हुन् । जिल्ला प्रशासन कार्यालय झापाले उजुरीका लागि आव्हान गरेपछि पीडितहरु उजुरी लिएर प्रशासन पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रशाकीय अधिकारी सुरेन्द्र भट्टराईले जिल्लाका २४ जनाले उजुरी दर्ता गराइसकेको बताए । इलाका प्रशासन कार्यालय दमकबाट ८ जना र जिल्ला प्रशासन कार्यालय भद्रपुरबाट १६ जनाले उजुरी दर्ता गराएको भट्टराईले जानकारी दिए ।
मिटरव्याजीको धन्दा गर्नेहरुबाट पीडितलाई भदौ ६ गतेसम्म उजुरीका लागि सूचना जारी गरिएको थियो । पीडितलाई मिटरव्याजीले गरेको अपराध र शोषणबारे खुलाएर उजुरी दिन भनेको थियो ।
जिल्ला प्रशासन, इलाका प्रशासन दमक र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिन आव्हान गरिएको थियो । जिल्लामा मिटरव्याजीहरुको ठुलै धन्दा भए पनि उल्लेख्य मात्रामा उजुरी नपरेको बताइएको छ ।