झापा । दसैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

 

गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एकएक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।

 

चालु आर्थिक वर्षभर नै राष्ट्र बैंकले आफ्ना कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउन थालेको छ ।

 

राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ २६ देखि सूचना नै जारी गरेर नयाँ नोट वितरण गरिने नेपालले बताए ।

 

दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् ।