झापा । झापा गाउँपालिका ३ रंगपुरका युवा कृषक चन्द्र बस्नेत ‘यूथ एग्री अवार्ड २०२२’ बाट पुरस्कृत भएका छन् । बिहीबार काठमाण्डौंस्थित होटल एभेरेष्टमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपालस्थित इजरायली राजदूताबासको सयुक्त आयोजनामा भएको कार्यक्रममा झापाका बस्नेतलाई यूथ एग्री अवार्ड २०७९ वितरण गरिएको हो ।

 

उनलाई प्रदेश १ बाट १ लाख रुपैंया नगदसहित उक्त अवार्ड प्रदान गरिएको हो । यस्तै, प्रदेश १ बाट बस्नेतसहित मधेश प्रदेशबाट सन्तोषकुमार यादव, बागमतीबाट युद्ध न्यौपाने, गण्डकीबाट शिवकुमार आले, लुम्बिनीबाट सृजना थारु, कर्णालीबाट दीपेन्द्र कार्की र सुदूरपश्चिमबाट विमल भण्डारी पुरस्कृत भएका छन् ।

 

उनीहरुलाई कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमारसिंह यादव, नेपालस्थित इजरायली राजदूत एचई हनथ गोडर गोल्डबेरजर्र, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष ख्याम पाठक र कार्यकारी प्रमुख शिवप्रसाद कोइरालाले दोसल्ला ओढाएर नगद तथा सम्मानपत्रद्धारा सम्मान गरेका थिए ।

 

अवार्डका लागि प्रत्येक प्रदेशबाट ३-३ जना नोमिनेशन गरिएको थियो । जसमध्ये एक-एक जनालाई उत्कृष्ट घोषणा गरि एक लाखका दरले पुरस्कार दिइएको हो ।

 

पुरस्कृतहरु इजरायल रिटर्नीहरुमध्येबाट छनोट गरिएका कृषक हुन् । सम्मानित तथा पुरस्कृत बस्नेतले झापामा व्यावसायिकरुपमा केरा खेती गर्दै आएका छन् ।