काठमाडौं । सन् २०२२ को साढे ९ महिनाको अवधिमा विभिन्न हिमाल आरोहण शुल्क बापत सरकारले ५ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

नेपाल पर्यटन विभागका अनुसार जनवरी १ देखि सेप्टेम्बर १४ सम्ममा हिमाल आरोहण शुल्क (रोयल्टी) बापत ४ लाख १८ हजार ७५ अमेरिकी डलर अर्थात् ५ करोड ३२ लाख २७ हजार हजार ५९२ रुपैयाँ संकलन भएको हो ।

 

समीक्षा अवधिमा विभिन्न ८ वटा हिमाल गरी ४८ समूहमा कुल ४५४ जनाले हिमाल आरोहणको अनुमति लिएको विभागको भनाइ छ । जसमध्ये ३४४ पुरुष र ११० महिला रहेका थिए ।

 

आरोहीहरूले माउन्ट धौलागिरी, गन्चेबो, माउन्ट हिमलुङ, कुम्भकर्ण, मनास्लु, नुप्से, सगरमाथा र माउन्ट सर्बुङ्गका लागि अनुमति लिएका थिए । विभिन्न ६० मुलुकहरूबाट आरोहीहरू नेपाल आएको विभागको भनाइ छ ।