झापा । नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने अलैँचीको निर्यात पछिल्ला वर्षहरूमा भने खस्कन थालेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३२.४८ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा पनि ३५.८९ प्रतिशतले गिरावट आएको छ।

 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको सुरुवातदेखि नै अलैँचीको निकासी निरन्तर ओरालो लागिरहेको छ । ‘कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैँचीको निर्यात घटिरहेको छ’, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भने, ‘गत आर्थिक वर्षमा साढे ३१ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आवको पहिलो महिनामा पनि सुधार हुन सकेन । यो आवको पहिलो महिनामै निकासीमा ३५.८९ प्रतिशतले ह्रास आएको छ ।’

 

केन्द्रका अनुसार अघिल्लो साउनमा ३५ करोड ६५ लाख रुपैयाँको निकासी रहेकोमा चालू आवको साउनमा भने यो निकासी २२ करोड ८५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ। परिमाणका हिसाबले अलैँची निकासी झनै घटेको देखिन्छ।

 

कुनै बेला किसानले प्रतिमन अर्थात् ४० केजीको १ लाख रुपैयाँमा बिक्री गरेको अलैँचीको मूल्य पछिल्लो समय भने निरन्तर ओरालो लागेको छ । ५ वर्षअघि प्रतिमन १ लाखका दरले बिक्री भएको अलैँची हाल २० हजार प्रतिमनमा आइपुगेको छ । विगतमा नेपालबाट उच्च निकासी हुने सूचीमा रहेको अलैँचीको खेती पनि बढ्दै गएको छ ।

 

सेपिलो र पानीको स्रोत भएको जमिनमा राम्रो उत्पादन हुने भएकाले किसानको रोजाइमा अलैँची खेती पर्दै आएको व्यवसायीहरू बताउँछन् । एक जिल्लामा सरदर ८ सय क्विन्टल अलैँची उत्पादन हुने अनुमान छ । छोटो समयमा खेर गइरहेको जग्गाबाटै अत्यधिक आम्दानी हुने अलैँची खेतीको विस्तार भइरहेको छ ।

 

पूर्वका पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, पाँचथर, सखुवासभासहित देशका ४० जिल्लामा अलैँची उत्पादन हुँदै आएको छ । पश्चिमको लमजुुङ पनि अलैँची खेतीका लागि निकै राम्रो मानिएको देखिन्छ । अलैँची साउनदेखि मंसिरसम्म उत्पादन भइसक्छ । कारोबार दैनिकबाट