अर्जुनधारा । झापाको बिर्तामोड ४ मा रहेको शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १०औं साधारणसभाका लागि आफ्नो सेवा केन्द्रबाट प्रतिनिधि छनौट कार्यलाई तिव्रता दिएको छ । यसै क्रममा आज शनिश्चरे सेवा केन्द्रबाट पनि प्रतिनिधि छनोट कार्य भएको छ ।

 

अर्जुनधारा नगरपालिका ७ स्थित अर्जुनधारा जलेश्वरधामको सभाहलमा आयोजित इकाइगत प्रतिनिधि छनोट कार्यक्रम अन्तरगत प्रतिनिधि छनोट भएका हुन् । संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख खग्डमाया पराजुलीले सहकारीले बचत तथा ऋण कारोबार मात्र नगरी उद्देश्य अनुरुपका काम गर्नुपर्नेमा जोड दिइन् ।

 

उनले सहकारीहरुले नाफासँगै सामाजिक कार्यमा समेत विशेष कदम चाल्नुपर्ने जोड दिँदै ऋण लिने सोचले मात्र सहकारीमा सदस्य बन्ने गरेको पाइएकोले सदस्यहरुलाई ऋण लिएर आय आर्जनमा लाग्न आग्रह गरिन् । उनले भनिन्, ‘सहकारीले दिएको ऋणलाई आयमूलक क्षेत्रमा लगाउनुपर्छ, ऋणकै कारण उठिबास हुने अवस्था आउन सक्छ ।’

 

कार्यक्रमका विशेष अतिथि अर्जुनधारा धामका मूल अर्चक अग्नि सिग्देलले सहकारीले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा संस्थाका अध्यक्ष सुव्रत न्यौपाने अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक युवराज निरौला लेखाको प्रतिवेदन, ऋण उपसमिति सदस्य चीजा राईले ऋण उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।

 

मुख्य कार्यालयसहित छ वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको संस्थामा ४ हजार ६ सय १३ जना सदस्य छन् भने शनिश्चरे सेवा केन्द्रमा ६१० जना सदस्य आवद्ध छन् । संस्थाको कार्यालयमा ३६ जना कर्मचारी कार्यरत रहेको संस्थाका व्यवस्थापक दीपेश धौरालीले जानकारी दिए ।

 

संस्थाका सञ्चालक समिति सदस्य चीजा राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गरेका थिए । संस्थाले यसअघि ३ वटा सेवा केन्द्रबाट प्रतिनिधि छनौट गरिसकेको छ भने भोलि बिहीबार सेवा केन्द्र धुलाबारीको अतिथि सदन धुलाबारीमा इकाइगत साधारणसभा हुनेछ । संस्थाको १०औं साधारणसभा असाेज ११ गते बिर्तामाेडमा हुँदैछ ।