अर्जुनधारा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (सहारा नेपाल साकोस)ले आफ्ना सदस्यहरुलाई सामाजिकरुपमा संरक्षण गर्नुपर्ने सदस्यलाई शनिबार सामाजिक सुरक्षा भत्ता वितरण तथा दसैँको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

 

बिर्तामोड २ मा प्रधान कार्यालय रहेको सहारा नेपाल साकोस नेपालकै सर्वोत्कृष्ट सहकारी संस्था हो । उसले एकैसाथ धुलाबारी, बिर्तामोड, शनिश्चरे, चारपाने, सुरुंगा, लक्ष्मीपुर, शिवगञ्ज, चन्द्रगढी, दूधे र दमकमा गरी १० स्थानमा सामाजिक सुरक्षा तथा शुभकामना आदान प्रदान गरेको हो ।

 

अर्जुनधारा धाममा आयोजित कार्यक्रममा शनिश्चरे सेवा केन्द्रका ४६ जना, खुदुनाबारीका १६ जना र बुधबारेका ६ जना एकल महिलालाई जनही ८ हजारका दरले सामाजिक सुरक्षावापत रकम प्रदान गर्यो । यस्तै ६५ वर्ष पूरा गरेका २ जना ज्येष्ठ सदस्यलाई २-२ हजार, ५८ वर्ष पूरा भएका २ जना एकल पुरुषलाई जनही ६ हजार प्रदान गरेको छ ।

 

यसैगरी, सदस्यको मृत्यु भएका परिवार राहत शीर्षकमा स्व. मिना उप्रेतीका श्रीमान रामप्रसाद सिवाकोटीलाई नगद २ लाखको चेक प्रदान गरिएको छ । सोही कार्यक्रममा २ जना अपांगता भएको व्यक्तिलाई जनही १० हजारका दरले प्रदान गरियो । कार्यक्रममा शनिश्चरे, खुदुनाबारी र बुधबारे सेवा केन्द्रका ७७ जना सदस्यलाई सामाजिक सुरक्षावापत सहयोग प्रदान गरिएको शनिश्चरे सेवा केन्द्रका प्रमुख दिपक ओलीले जानकारी दिए ।

 

कार्यक्रमकी प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले सहारा नेपालको प्रशंसा गर्दै थोरै सहयोगले सेयर सदस्यलाई राहत मिलेको सुनाइन् । हुँदा खानेका लागि वरदान सावित भएको भन्दै उनले पाडी किन्न लिएको ऋण साडी नकिन्न पनि अनुरोध गरिन् ।

 

 

लेखा समिति सुपरिवेक्षक समितिका सदस्य शंकर सुवेदीले संस्थाको वर्तमान स्थितिका बारेमा प्रष्ट पारे भने अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द खतिवडाले सहारासँग नजिक भएर गरिएको कामका बारेमा आफ्ना धारणा राखेका थिए । शनिश्चरे सेवा केन्द्र सञ्चालन उपसमितिका संयोजक छविलाल सिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा सेयर सदस्य चन्द्रकला भण्डारी, सरस्वती सिटौला र सुशिल धिमालले संस्थालाई धन्यवाद दिएका थिए ।

 

बुधबारे सेवा केन्द्रका प्रमुख सागर ओझाको सञ्चालन तथा खुदुनाबारी सेवा केन्द्रकी प्रमुख अम्बिका शरणले स्वागत र शनिश्चरे उपसमितिका सदस्य गीता अधिकारीले कार्यक्रमको उद्देश्य प्रष्ट पारेको कार्यक्रममा सदस्यहरु मानबहादुर कटुवाल, भक्तिप्रसाद रिमाल, सुरेन्द्र धिमाललगायतको उपस्थिति रहेको थियो ।

 

संस्थाले यसवर्ष एक महिला प्रोत्साहनस्वरुप ७१० जना, ज्येष्ठ पोषण सम्मान १८४ जना, ज्येष्ठ सदस्य सम्मान ९३ जना, बृद्ध सदस्य सम्मान ९ जना, एकल पुरुष सम्मान १७ जना, असक्त अपांग सम्मान १५ जना, दीर्घायू सदस्य सम्मान ४ जना र परिवार राहत (सदस्यको मृत्यु भएमा वा सदस्य ७५ वर्ष पूरा भएमा) १२ जनालाई सामाजिक सुरक्षा सुविधा प्रदान गर्नेछ ।

 

यसैगरी, संस्थाको सदस्य संख्या एक लाख ६० हजार नाघेको छ भने संस्थाको बचत ९ अर्ब ९६ करोड ३५ लाख २२ हजार ४६७ रुपैयाँ, ऋण लगानी १२ अर्ब ८४ करोड ३४ लाख ४१ हजार ३७८ रुपैयाँ, शेयर पूँजी १ अर्ब ६३ करोड १८ लाख ९१ हजार ८०० रुपैयाँ र जगेडा कोष १ अर्ब ११ करोड १९ लाख ८२ हजार ९५८ रुपैयाँ पुगेको जनाएको छ ।

 

संस्थामा १ अर्ब ६३ करोड ७ लाख ४४ हजार ८१६ रुपैयाँ नगद तथा बैंक मौज्दात रहेको जनाइएको छ । प्रदेश नं १ को ११ जिल्लामा सहाराका ७९ वटा सेवा केन्द्र सञ्चालन भइरहेका छन् । संस्थामा हाल ५२० जना कर्मचारी र ऋणी संख्या ८७ हजार ७० जना रहेका छन् ।