खुदुनाबारी । झापा अर्जुनधारामा रहेका हाम्रो स्वावलम्बी सामाजिक उद्यमी महिला सहकारी संस्थाले ११औँ वार्षिक साधारणसभाको अवसरमा आफ्ना उत्कृष्ट सेयर सदस्यलाई पुरस्कृत गरेको छ ।

 

अर्जुनधारा ३ स्थित ग्रिनेरी हलमा आयोजित साधारणसभा तथा ११औँ स्थापना दिवसमा व्यक्तिगत तथा समूहमा उत्कृष्ट बनेका सदस्यलाई पुरस्कृत गरिएको हो । दूध उत्पादन गरेर उत्कृष्ट किसान घोषित भएकी सरस्वती पौडेल ढकाल, देवीमाया बोहोरा, बाख्रापालनतर्फ उत्कृष्ट बनेकी चन्द्रकला बुढाथोकी र अम्बिकादेवी काफ्लेलाई संस्थाले पुरस्कृत गरेको छ ।

 

यस्तै, तरकारी खेतीतर्फ उत्कृष्ट बनेका निर्मला भट्टराई र दिवानकला अधिकारी, समूहमा उत्कृष्ट बनेका जरुवा टोल र भुलझुले महिला समूहलाई पनि पुरस्कृत गरियो । यसैगरी, उत्कृष्ट बचतकर्ताका रुपमा विमला खतिवडा र असर ऋणीतर्फ मनमाया बुर्जा मगरलाई संस्थाले पुरस्कृत गरेको छ ।

 

सोही कार्यक्रममा क्यान्सर पीडित सदस्य गंगा भण्डारी र अग्निपीडित कविता दाहाल खनालको परिवारलाई संस्थाले जनही ५ ५ हजार तथा खुदुनाबारीमा आयोजित महिला गोल्डकपका लागि ३ हजार सहयोग प्रदान गर्यो ।

 

संस्थाकी कार्यवाहक अध्यक्ष राधिका जवेगुको अध्यक्षता तथा संविधान सभा सदस्य प्रेम गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले अग्र्यानिक कृषि उत्पादनलाई बृद्धि गर्न नगरले सहयोग गर्ने बताए । नसर्ने रोग निदानका लागि भान्सा नै औषधालय बढावा दिँदै विषादी न्यूनीकरण गर्न नगर साझेदारी गर्न तयार रहेको उद्घोष गरे ।

 

संचालक समितिकी सदस्य कमला आचार्यले स्वागत गरेको कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख पदमलाल राई, लोकमान श्रेष्ठ, विष्णुलाल ढकाल, केशव खनाल, चन्द्रमाया तामाङ, लिलाकुमारी भण्डारीलगायतले संस्थाले गरेको प्रगतिको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।

 

संस्थाले आर्थिक वर्ष ०७८/०८९ मा २१ लाख २७ हजार नाफा गरेको छ भने सेयर पुँजी १ करोड ११ लाख १५ हजार ३०० पुर्याएको प्रतिवेदनमा उल्लेख छ । ३९ जना सेयर सदस्यबाट सुरु भएको संस्थाको अहिलेको संख्या १९१० जना पुगेको जनाइएको छ ।

 

संस्थाले ३ करोड १९ लाख १९ हजार कर्जा लगानी गरेको छ भने ५३ लाख ११ हजार व्याज अजुली गरेको छ । झोलाबाट कार्यालय सञ्चालन गरेको यस संस्थाले आफ्नै २ कठ्ठा ५ धुर जमिनमा ३ तले भवन निर्माण गरिरहेको अध्यक्ष जवेगुले जनाइन् ।