शनिश्चरे । झापको अर्जुनधारा नगरपालिकामा रहेका बजारमा अखाद्य बस्तु बिक्री भइरहेको फेला परेको छ । चाडपर्व नजिकिँदै गर्दा गरिएको अनुगमनका क्रममा माछादेखि मसलासम्म खान नहुने अवस्थामा फेला परेको हो । अझ मिठाइ पसलमा राखिएका तयारी खानेकुरामा ढुस्सीसमेत फेला परेको थियो ।

 

चाडपर्वहरुलाई लक्षित गरी अखाद्य सामग्रीहरु बढी बिक्री हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकाले जिल्लास्थित सरकारी निकायका प्रतिनिधिहरुको सहभागितामा बुधबार शनिश्चरे बजारको अनुगमन गरेको छ ।

 

नगर उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिकी संयोजक खड्गमाया पराजुली र जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको संयुक्त नेतृत्वमा गरिएको अनुगमन टोलीले १५ वटाभन्दा बढी किराना पसल, माछामासु पसल, मिठाई पसल, मार्ट अनुगमनको क्रममा धेरै संख्यामा अखाद्य वस्तु फेला परेका थिए ।

 

टोलीले अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा शुक्रकुमार दनुवार र राम चौधरीले सञ्चालन गरेको राम माछा पसलमा कुहिएको माछा बिक्री गर्न राखिएको अवस्थामा फेला पारेको थियो । सम्बन्धित निकायमा समेत दर्ता नगरिएको शुक्रकुमार दनुवारको माछा पसलबाट अनुमानित २० केजी र राम माछा पसलबाट अुनमानित २६ केजी माछा उक्त टोलीले जफत गरेका थिए ।

 

त्यसैगरी कलावती शाहले सञ्चालन गरेको भगवती स्टोर्सबाट म्याद गुज्रेको जीरा र धनियाको प्याकेट, सन्दिप गट्टानीले सञ्चालन गरेको लक्ष्मी ट्रेडर्सबाट म्याद गुज्रेको पापड, चाउमिन, बेसन, राजेश चौधरीले सञ्चालन गरेको सोनु किराना कस्मेटिक पसलबाट म्याद गुज्रेको खानेतेल, विशेष गरी चटपटे बनाउन प्रयोग हुने अमिलो, अचार, रसबरी, कम्प्लान, हर्लिक्स, कोदोको पीठो, फापरको पीठो, बदाम, दालमोठ, सोयावीन, चिल्ली सस, चोकोज र सतगोललगायत अनुगमन टोलीले जफत गरेका थिए ।

 

त्यस्तै विनोदकुमार राउतले सञ्चालन गरेको जलेश्वरी जेनेरल स्टोर्सबाट म्याद गुज्रेको पापड, तेल, चिसो पेय पदार्थ जफत गरिएको थियो । यता महेन्द्र महतोले सञ्चालन गरेको आर्यन मिष्ठान्न भण्डार र बब्लु गुप्ताले सञ्चालन गरेको बब्लु मिठाई पसलमा बिक्रीका लागि राखिएको ढुसी परेको पेडा, रसबरी, बुनिया, लड्डु, जेरी जफत गरिएको थियो । दुवै मिठाई पसललाई सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले तत्काल पत्र पठाउन अर्जुनधारा नगरपालिका प्रशासनलाई निर्देशन दिएका छन् ।

 

त्यस्तै एउटै छानामुनिबाट सर्वसुलभ मूल्यमा गुणस्तरीय सामग्री बिक्री गर्ने उद्देश्यले सञ्चालन भएको अर्जुनधारा सपिङ कम्प्लेक्सबाट उत्पादन मिति, म्याद समाप्ति, मूल्यसूची नभएको ६७ थान पापड र शनिअर्जुन मार्टमा पनि म्याद गुज्रेका रसबरी, पापड, मसला आदि फेला परेको थियो ।

 

त्यसैगरी अनुगमन गरिएको अन्य पसलहरुमा मनमाया फ्रेस हाउस, थापा मासु पसल, कुमारी फ्रेस हाउस, दाजुभाई फ्रेस हाउस, अर्जुनधारा ज्वेलर्स, के एण्ड के बेकरी एण्ड स्वीट्स, प्रज्ञान स्टोर्स, गुँरास स्टोर्स, राज स्टोर्स आदि रहेका छन् ।

 

टोलीमा नगरपालिकाका प्रमुख बलदेव गोम्देन, उपप्रमुख पराजुली, अन्य जनप्रतिनिधि, कर्मचारीहरु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि, अर्जुनधारा उद्योग वाणिज्य संघका प्रतिनिधि, अर्जुनधारा चेम्बर अफ कमर्सका प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि, शनिश्चरे प्रहरी चौकीका प्रतिनिधि, सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको थियो ।

 

अनुगमनका क्रममा जफत गरिएका सम्पूर्ण खाद्य सामग्रीहरु सोही दिननै अर्जुनधारा ८ वडा समितिका अध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा प्रशासन शाखाका अधिकृत चुँडामणि निरौला, शनिश्चरे प्रहरी चौकीका प्रहरी सहायक हवल्दार दीपक लिम्बू, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको उपस्थितीमा नष्ट गरिएको प्रशासन शाखाका अधिकृत निरौलाले जानकारी दिए ।

 

साना पसलदेखि सुविधासम्म मार्टसम्म अखाद्य वस्तुहरु फेला परेको विषयमा सञ्चारकर्मीहरुले जिज्ञासा राख्दा उपप्रमुख पराजुलीले बजार अनुगमनको कार्यलाई नियमितरुपमा सञ्चालन गर्ने प्रतिक्रिया दिएकी थिइन् । यता संयुक्त अनुगमनको टोलीले अनुगमन गरिरहँदा केही किराना पसल सञ्चालक भने सटर बन्द गरेको पाइयो ।