काठमाडौँ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) अवमूल्यन हुने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमयदर १३१.४१ रुपैयाँ (बिक्रीदर) तोकेको छ ।

 

सोही दिनको खरिद दर १३०.८१ प्रतिशत छ । यो हालसम्मकै उच्च हो । एक महिनायता गत शुक्रबार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ ।

 

मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ (बिक्रीदर) पुगेको थियो । त्यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि घट्न थालेको विनिमय दर साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको हो । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो ।

 

डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको जानकारहरू बताउँछन्  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

 

बुधबार साँझ ७ बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८१.८० पुगेको छ । गत शनिबार यस्तो दर भारु ८१.११ थियो । पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ ।

 

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलरको भाउ बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउने जानकारहरू बताउँछन् । इकान्तिपुरबाट