अर्जुनधारा । झमक्कै साँझ परिसकेको थियो । आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबको समर्थक र सैनिक युथ क्लब बिर्तामोडका समर्थक अबेरसम्म जितको प्रतिक्षामा थिए । तर, नतिजा अनपेक्षित बन्यो । निर्णय आइसक्दा दुवै टोलीले ११ पटक प्रहार गर्नु परेको थियो ।

 

रोमाञ्चक मोडमा पुगेको पहिलो सेमिफाइनलमा सैनिक युथ क्लब बिर्तामोडलाई पराजित गर्न आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबलाई हम्मे पर्यो । निर्धारित समयमा २-२ गोलको बराबरी खेलेको खेलको निर्णय सडनडेथबाट लिनु परेको थियो । जसको निर्णायक गोल ११औँ प्रहारबाट सम्भव भयो ।

 

झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको पहिलो सेमिफाइनलमा आयोजकले सडनडेथमा ९-८ गोलले सैनिकलाई पराजित गर्यो । जितसँगै आयोजकले कम्तिमा ५० हजार सुरक्षित गरेको छ । आयोजक फाइनल पुग्ने पहिलो टोली हो ।

 

 

निर्धारित समयमा दुवै टोलीले समान २-२ गोलको बराबरी खेलेका थिए । टाइब्रेकरमा पनि समान ५-५ गोल भएपछि खेल सडनडेथमा धकेलिएको थियो । खेलको पहिलो गोल भने आयोजकका लागि पुजन राईले गरेका थिए । आयोजकका लागि पुजनले नै दुवै गोल ९ र १९औँ मिनेटमा गरेका हुन् ।

 

तर, खेलको २८औँ मिनेटमा योगेन्द्र तामाङको सुन्दर गोलबाट सैनिक खेलमा फर्किने प्रयास गरेको थियो । खेलको ५६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सैनिकले खेललाई बराबरीमा पुर्यायो । सैनिकका लागि दिलन लोक्तामले गोल गरेका थिए ।

 

तर, टाइब्रेकर र सडनडेथ सोचेजस्तो हुन सकेन । दुवै टोलीले ११-११ पटक प्रहार गर्दा गोल संख्या ९-८ रह्यो । १-१ प्रहार बाहिरिएको थियो भने आयोजकको एउटा प्रहार बारमा लाग्दै फर्कियो भने सैनिकको प्रहार गोलरक्षकले बचाएका थिए ।

 

 

झमक्कै साँझ परेकाले दुवै टोलीले २ पटकसम्म के गर्ने ? भन्नेबारे छलफल पनि गरे । अन्ततः हार जित स्वीकार्ने पक्षमा सडनडेथ खेलाइएको थियो । अन्त्यमा आयोजकका गोलरक्षक सञ्जीव गुरुङ (भारु)ले सैनिकको अन्तिम प्रहार बचाएर टिमलाई फाइनलमा पुर्याए ।

 

खेलको म्यान अफ दी म्याच आयोजकका पुजन राई घोषित भए । उनले आयोजकका तर्फबाट नगद १५ सय पाए । भोलि (शुक्रबार)को अन्तिम सेमिफाइनल खेल बिर्तामोड युनाइटेड र भारतको रथखोला एफसीबीच हुने प्रचार संयोजक कमल पोख्रेलले बताए ।

 

अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजना तथा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित गोल्डकपको विजेता र उपविजेताले क्रमशः नगद एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।