
झापा । झापाको अर्जुनधारामा आयोजित दोस्रो नव युवा गोल्डकपको उपाधि आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबले जित्दा स्पर्धी बिर्तामोड युनाइटेड स्तब्ध बन्यो । अर्जुनधारा खेलमैदानमा भएको फाइनल खेलमा बिर्तामोडलाई २-० गोलले पराजित गरी अर्जुनधाराले उपाधि रक्षा गरेको थियो ।
आयोजक अर्जुनधाराका लागि विकास खवास र सौरभ लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच आयोजकका सौरभ लिम्बू घोषित भए ।
असोज ९ गतेदेखि सुरु भएको गोल्डकपको विजेता र उपविजेताले नगद एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उनीहरुलाई नगर प्रमुख बलदेव सिंह गोम्देन, वडा नम्बर ४ का अध्यक्ष अमर कटुवाल, ७ का अध्यक्ष गोविन्द खतिवडा, आयोजक क्लबका अध्यक्ष देवेन्द्र मैनाली, अनिष न्यौपानेलगायतले ट्रफी र नगद प्रदान गरेका थिए ।