बिर्तामोड । झापाको बिर्तामोड ५ स्थित वान स्टप मलमा आगलागी हुँदा तीन करोड २५ लाख बराबरको क्षति भएको छ ।
बिर्तामोड ५ जात्रुबारी बस्ने सूर्यबहादुर अधिकारीले मलमा सञ्चालन गरेको कपडा पसलमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
अधिकारीको रिद्धिसिद्धि कपडा पसलमा विद्युत् लाईन सर्ट भइ अचानक आगलागी भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख डीएसपी रुगमबहादुर कुँवरको नेतृत्वमा प्रहरी परिचालन भएको थियो । त्यस्तै आगो नियन्त्रणका लागि सशस्त्र वेस क्याम्प शनिश्चरेबाट डीएसपीको कमाण्डमा १५ जनाको टोली खटिएको थियो ।
बिर्तामोड, मेचीनगर, भद्रपुर, गौरादह नगरपालिका तथा कमल गाउँपालिकाको दमकल, बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी कुँवरले जानकारी दिए ।
अधिकारीको श्रीमती सुस्मा फेदापेको नाममा दर्ता रहेको रिद्धसिद्धि कलेक्सन कपडा पसलमा आगलागी हुँदा पक्की वाल भएको कपडा पसल, पसलभित्र रहेको रेडिमेट फेन्सी कपडा, जुत्तालगायत डेकुरेसनका सामानहरु समेत पूर्ण रुपमा जलेर नष्ट हुँदा तीन करोड बराबरको क्षति भएको बताइएको छ ।
साथै, उक्त पसलको माथिल्लो तलामा रहेको बिर्तामोड ५ बस्ने अभिषेक अग्रवालको हाईफ नेपाल हस्पिटालिटी होटलमा समेत आगलागी हुँदा होटल, होटलभित्र रहेको डेकुरेसनका सामानहरुसहित, दुई थान डेस्कटप, दुई थान ल्याप टप, दुई थान प्रिन्टर, राउटर, सीसी क्यामेराको सेट, एक थान एलईडी ४२ ईन्चको टिभी, इन्भटर एसी एक थान जल्दा करिब २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शनिबार राति करिब ८ बजे मलमा आगलागी सुरु भएको थियो । सोही समय मलमा रहेको क्यूएफएक्समा चलिरहेको नेपाली चलचित्र बाबरीको प्रोमोशनका लागि नायक र नायिकासहितको टोली आएको थियो ।