बिर्तामोड । झापा बिर्तामोडको कृषिथोकबाट बरामद गरिएको माहुर (मुंग्री) हाइब्रेड माछा आज नष्ट गरिएको छ । बिर्तामोड वडा नम्बर ५ स्थित कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १ सय किलो माछा (एक क्विन्टल) शनिबार साँझ बिर्तामोड नगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेपाल सरकारबाट प्रतिबन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने उक्त माछा कृषकहरुको सहयोगमा नगर प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिएको माछा आज बिर्ताबजार नजिकै खाल्डो खनेर पुरिएको छ ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, माछा उत्पादक कृषक मोहन शिवाकोटी, लक्ष्मी प्रसाद शिवाकोटी, कपिल न्यौपाने, मोहनसिंह राजवंशी, ज्ञानेन्द्र बिमलीलगायत स्थानीयको रोहबरमा माछा नष्ट गरिएको हो ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले यस प्रकारको प्रतिबन्धित माछा उत्पादन नगर्न कृषकहरुलाई आग्रह गरेका छन् । उनले अवैध र मरेका माछा बिर्तामोड नगर क्षेत्रभित्र बिक्री वितरण गरेको भेटिएमा कानूनअनुसार नगरपालिकाले कार्वाही गर्ने चेतावनी पनि दिएका छन् । बिर्तामोड नगरपालिकाले मरेका माछा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।