बिर्तामोड । झापाको बिर्तामोडस्थित दुर्गामन्दिर उत्तरमा रहेको प्रसाई मार्केटमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट करिब ५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

मंगलबार (आज) विहान ८ः३० बजे राजु वंशलले सञ्चालन गरेको बंशल रेडिमेड कपडा पसलमा आगलागी भएको थियो । बिर्तामोडको बीच बजारको पसलमा आगलागी भएको हुँदा ठुलो क्षति हुनसक्ने त्रासले नेपाली सेनासमेत परिचालन गरिएको थियो ।

 

दमक, मेचीनगर, बिर्तामोड, कनकाई र भद्रपुरको वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारणको सहयोगमा करिब १ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

 

बिद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । धरान टेलर्सको माथ्लो तलामा रहेको बंशल रेडिमेड पसलमा आगलागी भएको हो । विद्युत सर्ट भएर केही महिनाभित्र बिर्तामोडमा आगलागी भएको यो तेस्रो घटना हो ।