लिलक सिटौला,
बिहानपख एउटा हल्ला इलाम बजारमा आयो, नेपालका प्रधानमन्त्री सूर्यबहादुर थापाको भ्रमण इलाम हुन्छ भनेर । समयचाहिँ केही दिन लाग्छ, दुईदेखि चार दिनभित्रमा भ्रमण निश्चित भएको खबर हामीले पनि पायौँ । देशकै प्रधानमन्त्री आएको बेला हामो गुनासो पोख्नु पर्छ जस्तो मलाई लाग्यो तर पार्टी पद्दतिमा हिँडिसकेपछि अरु साथीहरुसँग छलफल नगरी मैलेमात्र निर्णय लिनु मलाई नै घातक हुन्छजस्तो लाग्यो ।

 

भोलि पल्टदेखि हाम्रो सम्पर्क बढाउनु बाध्यता थियो । हामी यो विषयमा दमदार हिसाबले जुटेका थियौँ । दाइ टंक बस्नेत, राजेन्द्र शर्मा, रमेश डिसी, दुर्गा खरेल, दावा लामा अरु पनि धेरै साथीहरु, महिला साथीमा दिदी सुलोचना हुनुहुन्थ्यो । बेनुपराज प्रसाई इलाम नगरपालिकाका मेयर थिए । हामीलाई अलिक सजिलो भएको थियो । वहाँले हामीलाई सहयोग गर्नुहुन्थ्यो ।

 

नेपालको जुनसुकै व्यवहारमा आफ्नो मान्छे ठाउँमा छ भने त्यो मान्छेलाई केही आपत्ति आए पनि आउँदैन भन्ने कुरो त्यहीबेला थाहा भएको हो, हामी सबैले त्यसबेलाको कानुन मुखको थियो, फैसला पनि मुखैबाट हुन्थ्यो । मैले सबै साथीहरुमाझ आफ्नो कुरा राखेँ, प्रधानमन्त्रीलाई भेटेर कुरा राख्नु पर्यो भनेर । अरु साथीहरु अलिक विद्रोही थिए । तर, टंक बस्नेतले भने भोलि बेनुपराज प्रसाईलाई भेटेर कुरो गरौँ त्यसपछि जे हुन्छ त्यही गरुँला । वहाँ हाम्रो अभिभावक साथै नेता पनि हुनुहुन्थ्यो । राजेन्द्र शर्मालगायतका साथीहरु चुप लागेपछि हामीले बेनुप दाइलाई भेट्ने निर्णय गरेका थियौँ ।

 

बेनुप दाइको घर इलामको क्याम्पसमुनि, टुँडिखेलदेखि अलिक माथि थियो । हामीले बिहानै झिसमिसेमै भेट्ने सल्लाह गरेका थियौँ । सोहीअनुरुप हामी बेनुप दाइको शानदार घरमा पुग्यौँ । प्रधानमन्त्री आउने सूचनाले वहाँसँग भेट्ने प्रवल इच्छा हामीलाई थियो त्यो कुराको भेटघाट मिलाउने जिम्मा हामीले बेनुप दाइलाई दियौँ । वहाँ इलामको मेयर भएकाले नगरपालिका आउँदा प्रधानमन्त्रीलाई भेट्ने १० मिनेट डेलिगेशनका लागि मिलाइदिनु भयो ।

 

तर, हामीलाई पुलिसले खोजिरहेका थिए । र पनि हामीलाई पुलिस साथीहरुले बचाएका थिए । भेट हुने कुरामा हामी निश्चित भएका थियौँ । त्यो बेलामा न्यायालयमा त्यति हल्ला हुँदैनथ्यो । सबै कानुन कि त अञ्चलाधीशको हातमा हुन्थ्यो कि त सिडिओको हातमा । हाम्रो मुद्दा सिडिओको मुखमा थियो । हामी पढ्न गएका विद्यार्थी मुक्त हुन चाहन्थ्यौँ । त्यही कारणले हामी प्रधानमन्त्रीलाई भेट्न आतुर थियौँ ।

 

ठ्याक्कै मिति थाहा भएन, २०३९ सालतिर देशका प्रधानमन्त्री सूर्यबहादुर थापा इलाम जिल्ला अर्थात् इलाम बजारमा आइपुग्नु भो । वहाँको कार्यक्रम त्यो बेलामा सिडिओ साहेबबाट हुने गर्दथ्यो । हामीले भेट्ने कार्यक्रम हामीले चाहेर पनि सम्भव थिएन । तर, मलाई र टंक दाइलाई एउटा विश्वास थियो, थापासँग भेट हुन्छ भनेर । त्यसमा म पहिला इलाम आउँदा भेट्ने दाइ धर्म गौतमको पनि ठूलो भूमिका थियो । भोलि इलामको नगरपालिकामा प्रधानमन्त्री सूर्यबहादुर थापा आउने जानकारी पायौँ । भोलि ठिक ११ बजे ।