झापा । भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको औषधिसहित विभिन्न सामान प्रहरीले बरामद गरेको छ । शनिबार बिहान ६ः४५ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नम्बर ६ मेची खोलामा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी मूल्य ७० हजारबराबरको औषधि नियन्त्रणमा लिएको हो ।

 

ती औषधी आवश्यक कार्वाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय बिराटनगर बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

त्यस्तै शुक्रबार राति ९ः३० बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नम्बर ६ बसपार्क छेउमा भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी मूल्य ५० हजारबराबरको किराना सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै शनिबार बिहान ६ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दमक वडा नम्बर ७ पशुहाट डाँडामा भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली ल्याएको अन्दाजी मूल्य १ लाख ५० हजारबराबरको १३५ जोर जुत्ता नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

 

त्यस्तै शनिबार बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी महारानीझोडाबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरादह वडा नम्बर ४ मिलन चौकमा अन्दाजी मूल्य २८ हजारबराबरको ७ बोरा अवैध चिनी, ४ हजार मूल्य बराबरको २ कार्टुन बिडी नियन्त्रणमा लिएको छ ।

 

त्यस्तै शनिबार बिहान ९ः३० बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नम्बर ६ जेसिका ठ्याकमा अन्दाजी मूल्य ५० हजारबराबरको थानको कपडा नियन्त्रणमा लिएको छ ।

 

त्यस्तै शनिबार बिहान ११ः४० बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भद्रपुर वडा नम्बर ७ गार्मेन्ट चोकमा अन्दाजी मूल्य ३१ हजार ५०० बराबरको ७ बोरा मैदा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए ।