शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित कटहर डाँडामा दुग्ध पकेट प्याकेज कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । स्थानीय कृषको आर्थिक समृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार आगामी चैत दोस्रो सातादेखि सञ्चालन हुने उक्त कार्यक्रममा नगर पशुपन्छी तथा मत्स्य विकास शाखाको ८० प्रतिशत र स्थानीय प्रगति कृषक समूहको २० प्रतिशत लगानी रहने शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए ।
कार्यक्रमबाट अर्जुनधारा ९ सँगै छिमेकी ८ र १० नम्बर वडाका पाँच सय जनाभन्दा बढी कृषक लाभान्वित हुने प्रमुख राईले दाबी गरेका छन् । सोही कार्यक्रमको लागि यसवर्ष आठ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।
कार्यक्रममार्फत् दूध चिस्यान केन्द्रको स्थापना, नेपाल सरकारको मापदण्डअनुसार गुणस्तरको आधारमा दूधको मूल्य निर्धारण, बजारीकरणको लागि पहल गरिने, प्राविधिक सेवा, उन्नत नश्ल सुधार, गोठ खोर व्यवस्थापन, आहारा व्यवस्थापन, औषधि उपचारको सेवा प्राप्त हुने हुँदा कृषकहरुको लागि कार्यक्रम प्रभावकारी हुने बताइएको छ ।
शाखासँगको साझेदारीमा विभिन्न कृषक समूहले पनि यस किसिमको कार्यक्रम अर्जुनधारा १, २, १० र ११ नम्बर वडामा सञ्चालन गरिरहेका छन् । यस्तै ४ र ७ नम्बर वडामा निजी क्षेत्रबाट सञ्चालन गरिएको बताइएको छ ।
यसैबीच शाखाले मंगलबार कार्यक्रमको विषयमा कृषकहरुसँग वृहत छलफल तथा अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । सहआयोजक कटहरडाँडा प्रगति कृषक समूहका अध्यक्ष शिवकुमार घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा शाखा प्रमुख राईले कार्यक्रमको औचित्य तथा उद्देश्यबारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा अर्जुनधारा ९ का वडाध्यक्ष भीष्म मिश्र, नगर आर्थिक समितिकी संयोजक गौरीमाया चिमरिया, नेकपा माओवादी केन्द्र नगरका सचिव युवराज नेपाल, नेपाली काँग्रेस वडा सभापति लीलाराज पौडेललगायतले कार्यक्रमको विषयमा आफ्ना धारणा राखेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन समूहका सचिव धनबहादुर राईले गरेका थिए । समूहमा ११० जना शेयर सदस्य रहेका छन् ।