शनिश्चरे । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत झापाको अर्जुनधारा ११ स्थित सालबारीमा सुरु गरिएको मकै पकेट विकास कार्यक्रममा सहभागी भएका कृषकलाई कृषि औजार तथा यन्त्र उपकरण वितरण गरिएको छ ।

 

चालु आर्थिक वर्ष ०७९/०८० देखि मकै पकेट विकास कार्यक्रम सुरु गरिएको हो । कृषिमा यान्त्रिकिकरणको प्रयोगबाट कृषकहरुको लागत घटाउने र उत्पादनमा बृद्धि गर्ने उद्देश्यले सो क्षेत्रलाई कार्यक्रमको लागि छनौट गरिएको नगर कृषि विकास शाखाकी प्रमुख एञ्जिला बेडारीले बताइन् ।

 

त्यस क्षेत्रको ३४ विगाहा जमिनमा सुरु गरिएको उक्त कार्यक्रमको जम्मा बजेट २२ लाख रुपैयाँ रहेको छ । २२ लाख रुपैयाँमध्ये ११ लाख परियोजनाले र बाँकी ११ लाख साझेदारी संस्था अर्जुनधारा ८ स्थित शनिश्चरे साना किसान कृषि सहकारी संस्थाले लगानी गर्ने बताइएको छ । कार्यक्रमबाट ५२५ जना कृषक लाभान्वित हुने दाबी गरिएको छ ।

 

संस्थाका प्रबन्धक भूमिनाथ बरालका अनुसार कृषकहरुलाई पावर टेलर एक थान, कुटानी पिसानी १२ थान, मकै छोडाउने मेसिन चार थान, मकै रोप्ने मेसिन पाँच थान, पानी तान्ने मोटर तीन थान, डिजिटल काँटा तीन थान र चार्जर स्प्रे ट्याङकी पाँच थान रहेको छ ।

 

संस्थाले यसअघि सिञ्चाईंको लागि बाँध निर्माण, एउटा बोरिङ निर्माणसँगै १४५ घरधुरीका कृषकलाई चार लाख ३४ हजार रुपैयाँबराबरको ११ सय केजी मकैको बीऊ वितरण गरेको प्रबन्धक बरालले जानकारी दिए । उनका अनुसार ३० हजार रुपैयाँबराबरको विषादी पनि कृषकहरुलाई वितरण गर्ने कार्यक्रम भइरहेको छ ।

 

संस्था सञ्चालक समितिका अध्यक्ष भैरवबहादुर खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्ष खगेन्द्र इङनाम, नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरिया, महारानीगञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूलगायतले उनीहरुलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

 

शाखा प्रमुख बेडारीले कार्यक्रमको औचित्य तथा संस्थाका उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रबन्धक बरालले गरेका थिए ।