झापा । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ । नगर प्रमुख एवं स्थानीय भू-उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाँकी रहेको वडा नम्बर ६ को पनि वर्गाीकरण कार्य सम्पन्न गरेको हो ।

 

बैठकले वडा नम्बर ६मा रहेको गिरीवन्धु टी-स्टेटको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गा सट्टापट्टाका विषयमा सरकारको निर्णयका विरुद्व सर्वोच्च अदालतमा मुद्वा विचाराधिन रहेकोले हाललाई उक्त जग्गा वर्गीकरणमा समावेश नगर्ने निर्णय गरेको छ । वडा नम्बर ६ साविक अनारमनि गाविस वडा नम्बर १को बाँकी रहेका जग्गाको भने वर्गीकरण सम्पन्न गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

 

यस्तै यसअघि सम्पन्न भएको वडा नम्बर ७, ८, ९ र १० क्षेत्रमा पर्ने जग्गाहरुलाई भू-उपयोग नियमावली २०७९ र स्थानीय भू-उपयोग परिषद्ले तोकेको मापदण्डको आधारमा विभिन्न क्षेत्रमा वर्गीकरण गरि अनुमोदनसमेत गरिसकेकोले नियामानुसार कित्ताकाट गर्ने, उपभोग गर्ने तथा वेचविखन गर्न भूमि सुधार तथा मालपोत कार्यालयलाई सिफारिस गर्ने बैठकले निर्णय गरेको छ ।

 

नगरपालिकाले वडा नम्बर ६ को जग्गा वर्गाीकरण सम्बन्धि सूचना स्थानीय पत्रपत्रिका र आधिकारिक वेबसाइटमा प्रकाशन गर्नेछ । वर्गीकरणअनुसार आवासीय क्षेत्रका जग्गामा सम्पत्ति कर र कृषि क्षेत्रको जग्गामा मालपोत भूमिकर लागु हुने नगरपालिकाले जनाएको छ ।

 

बिर्तामोडको वडा नम्बर १ देखि ५ सम्मको जग्गामा भने यसअघि नै कित्ताकाट तथा किनबेच सुरु भइसकेको छ । बिर्तामोड नगरपालिका जग्गा वर्गीकरणको प्रक्रिया सम्पन्न गर्नेमा जिल्लाकै पहिलो पालिका हो ।