शनिश्चरे । झापाको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष धानको बिज बृद्धि गर्ने योजना अघि सारेको छ । धानको बीऊमा नगरक्षेत्रका कृषकलाई आत्मनिर्भर बनाउन ८० विगाह क्षेत्रफलमा धानको रैथाने जातको बीऊमात्र नभई बीऊ बिक्री गरेर कृषकको जीवनस्तर उठाउने योजनाले अघि सारेको जनाइएको छ ।
धानसँगै सहकारीले रैथाने जातको मकैको बीऊ समेत उत्पादन गर्न कृषकलाई सहयोग गरिरहेको सहकारीका अध्यक्ष प्रत्युस राना मगरले जानकारी दिए । संस्थाले धानबाली बृद्धिसम्बन्धि अगुवा कृषकसँग दुई दिने अभिमूखिकरण तालिम आयोजना गरेको छ । सहकारीले नगरका कृषकसँग बीज बृद्धिका लागि दुई दिने तालिमको आयोजना गर्दै सहकारीले गर्ने कार्यक्रमका बिषयमा जानकारी दिइएको हो ।
तालिमको उद्घाटन कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आज (बिहीबार) गरे हुन् । भोलिसम्म हुने तालिममा नगरका अगुवा कृषकहरुको सहभागिता रहेको छ ।
मन्त्री सिटौलाले नेपाल कृषि प्रधान देशमा बाह्य देशबाट खाद्यान्न लगायतका बस्तु आयात बढ्दो रहेकाले यसलाई रोक्न लाग्नुपर्ने बताए । उनले कृषिमा भविष्य भए पनि कृषि पेशा अंगाल्नेहरुले नबुझिकन कृषि पेशा गरेका कारणले कृषकले बर्सेनि ठूलो क्षति व्यहोर्नु परेको दाबी गरे ।
यसैगरी, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले तामाङले अर्जुनधारा नगरपालिका कृषिमा आधारित नगर भएको बताउँदै कृषकलाई कृषि उत्पादनमा सहयोग पु¥याउन विभिन्नखाले कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले ‘अहिलेको प्रविधिको प्रयोग गर्दै उन्नत जातका बीऊ विजन उत्पादनमा जोड्न यो कार्यक्रम सञ्चालन गरिएको पनि सुनाए ।
नगर प्रमुख गोम्देनले नगर क्षेत्रभित्र उत्पादन भएका बस्तुले अहिले बजार नपाउने गरेको बताउँदै बजारको खोजी गर्न संघीय र प्रदेश सरकारलाई आग्रह गरेका छन् । स्थानीय सरकारको बजेटले मात्रै नगरले लिएको लक्ष्य सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकारसँग समन्वय र सहयोग पु¥याउन तामाङको आग्रह छ ।
संस्थाका अध्यक्ष प्रत्युस राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी सदस्य देवकला प्रसाईले गरेकी थिइन् । कार्यक्रममा पूर्व सांसद वृख प्रधान, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहकारीका उपाध्यक्ष छत्र पौडेलले गरेका थिए ।
संस्थाले यस अघि दिएको तालिममा सहभागी भएर कृषिलाई व्यावसायिकरण गरेर उन्नत जातका बीऊ, बीजन प्रयोग गरी उत्पादनमा जोड दिएको भन्दै तीन जना कृषकलाई सोही समारोहमा सम्मानसमेत गरिएको थियो । तालिममा ६० जनाभन्दा बढी कृषकको सहभागिता रहेको जनाइएको छ ।