शनिश्चरे । अर्जुनधारा नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले स्थानीय कृषकलाई लक्षित गरेर थुनेलो रोग नियन्त्रण, दूध परीक्षण तथा निःशुल्क औषधि वितरण गरेको छ । अर्जुनधारा ९ मा रहेको कटहरडाँडा प्रगति कृषक समूहमा आवद्ध कृषकलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।

 

समूहका उपाध्यक्ष पूण्यप्रसाद अधिकारीको अध्यक्षता र वडाध्यक्ष भिष्म मिश्रको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कृषकहरुलाई थुनेलो रोग नियन्त्रणबारे प्राविधिक ज्ञानसँगै निःशुल्क औषधि वितरण गरिएको हो ।

 

कार्यक्रममा समूहमा आवद्ध ५३ जना कृषकले दूध परीक्षणका लागि ल्याएका थिए । जसमध्ये ५ वटामा थुनेलो पोजेटिभ देखिएको थियो । यस्तै, ६० जना कृषकलाई निःशुल्क औषधि वितरण गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए । उनका अनुसार कृषकहरुको पशुधनको सुरक्षा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

 

उनका अनुसार घरपालुवा पशुपंक्षीबाट ६० प्रतिशत र जंगली जनावरबाट ७५ प्रतिशत मानिसमा रोग सर्ने गर्छ । आफूले पालेका पशुपंक्षीलाई स्वस्थ राखेको खण्डमा पशुधनको सुरक्षामात्र नभइ मानव स्वास्थ्य पनि सुरक्षित हुने उनको भनाइ थियो ।

 

समूहका व्यवस्थापक हरि तिम्सिनाले स्वागतसहित समूहको वर्तमान अवस्थाबारे जानकारी गराएको कार्यक्रममा नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरिया, वडाध्यक्ष मिश्रलगायतले आफ्नो धारणा राखेको कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।

 

चालु आवको स्वीकृत वार्षिक नीति तथा कार्यक्रमको दुग्ध पकेट प्याकेज कार्यक्रम अन्तर्गत अर्जुनधारा ९ स्थित कटहरडाँडामा समूहले दूध चिस्यान केन्द्र सञ्चालन गरेर लाभ लिइरहेका छन् ।

 

नगर पशुपन्छी तथा मत्स्य विकास शाखाको ८० प्रतिशत र समूहको २० प्रतिशत लगानीमा उक्त चिस्यान केन्द्र सञ्चालन भएको हो । चिस्यान केन्द्र सञ्चालन भए पछि ग्वाला र बिचौलियाहरुबाट कृषक ठगिने कार्यको पनि अन्त्य भएको समूहका व्यवस्थापक हरि तिम्सिनाले दाबी गरेका छन् ।

 

५३ जना कृषक सदस्य रहेको समूहले प्रत्येक १५ दिनमा दूधको भुक्तानी दिने गरेका छन् । विगतमा ग्वालाहरुले कृषकलाई गाईको दूध प्रतिलिटर ५० रुपैयाँ र भैंसीको दूध प्रतिलिटर ६०-६५ रुपैयाँ दिने गरेको थियो ।

 

पाँच सय लिटर क्षमताको उक्त चिस्यान केन्द्रमा क्षमताअनुसारको दूध उत्पादन र संकलनमा बृद्धि गर्ने लक्ष्य रहेको समूहका सचिव धनबहादुर राईले जानकारी दिए । त्यसैगरी कृषकहरुका लागि आवश्यक अन्य कार्यक्रमसँग चिस्यान केन्द्रको स्तोरन्नतीका लागि वडा, नगरपालिका, प्रदेश र संघीय सरकारसँग पहल गर्ने कार्य भइरहेको उनले बताए ।