शनिश्चरे (झापा) । सरकारी सेवा सुविधामा पहुँच पुग्न नसकेका वडाबासी किसानलाई लक्षित गरी अर्जुनधारा १ नम्बर वडा कार्यालयले परजीवी नियन्त्रण गर्ने उद्देश्यले निःशूल्क औषधि वितरण गरेको छ ।
अर्जुनधारा नगरपालिकाको दुर्गम क्षेत्रको रुपमा रहेको १ नम्बर वडाको माटेमा रहेका पशुपंक्षीपालक कृषकलाई वडा कार्यालयको आयोजनामा नगर पशुपंक्षी तथा मत्स्य विकास शाखा अर्जुनधाराले परजीवी नियन्त्रणका लागि आइतबार निःशूल्क औषधि वितरण गरेको हो ।
ग्रामीण भेगमा बसेर पशुपालन गरिरहेका किसानले सामान्य रोगको उपचार पाउन नसक्दा आर्थिकरुपले धेरै क्षति व्यहोर्नुपर्ने अवस्थालाई न्यनीकरण गर्दै पशुको स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्न पनि घरदैलो कार्यक्रम गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।
अर्जुनधारा १ का वडा सदस्य मदन लिमेलको अध्यक्षतामा माटेमा भएको कार्यक्रममा स्थानीय कृषक तिलमान दर्जीलाई नाम्लेको औषधि वितरण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा वडाकी सदस्य इन्द्रकुमारी विश्वकर्मा, स्थानीय अगुवा योगराज राईलगायतले आफ्ना भनाइ राखेका थिए ।
यसैगरी, आइतबार नै १ नम्बर वडाकै सातकटेरीमा पनि निःशूल्क औषधि वितरण गरिएको थियो । शाखाका अनुसार दुवै क्षेत्रका ६९ जना कृषकलाई जुम्रा, किर्ना, जुका र नाम्लेको औषधि वितरण गरिएको छ । जसमा १५० वटा गाई, ३० वटा भैंसी, पाँच सय वटा बाख्रा, एक सय वटा बंगुर, दुई सय वटा कुखुरा र ३० वटा हाँसका लागि औषधि वितरण गरिएको शाखा प्रमुख राईले जानकारी दिए ।
औषधि वितरण कार्यक्रममा उपस्थित किसानलाई शाखा प्रमुख राईले पशु बिमासम्बन्धी जानकारी गराउँदै त्यस क्षेत्रमा शाखाले आगामी दिनमा कृषकहरुको समूह गठन गरी विभिन्न गतिविधि सञ्चालन गर्ने लक्ष्य शाखाले लिएको पनि बताए ।