शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाका कर्मचारीहरुलाई लक्षित गरेर कोपोमिससम्बन्धी तालिम दिइएको छ ।

 

अर्जुनधारा नगरपालिकाको सामाजिक विकास शाखाको आयोजनामा सहकारी संस्थाका कर्मचारीलाई चार दिने तालिम बिहीबारदेखि झापाको अर्जुनधारामा दिन सुरु गरिएको हो ।

 

अर्जुनधारा ९ स्थित सुखानी शहीद स्मृति उद्यानको सभाहलमा आयोजित उक्त तालिमको उद्घाटन नगरकी उपप्रमुख खड्गमाया पराजुलीले गरेकी थिइन् । कर्मचारीहरुलाई सहकारी संस्थाका तथ्याङ्कहरुलाई एकीकृतरुपमा प्रविष्ट गर्न सीपको विकास गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको शाखाका प्रमुख राजविक्रम खड्काले बताए ।

 

उनका अनुसार प्रदेश सहकारी कार्यालय रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रशिक्षक मनोज कार्कीले प्रशिक्षण दिने तालिममा सहकारीको समस्या, चुनौती, ऐन्, नियमावली, ऋण लगानी, असुलीलगायतका विषयमा छलफल गरिने बताइएको छ । तालिममा विभिन्न सहकारी संस्थाका ६० जना कर्मचारी सहभागी छन् ।

 

तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, नगर सहकारी समन्वय समितिका सचिव हरि वाग्लेलगायतले मन्तव्य राखेका थिए ।

 

नगर उपप्रमुख पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाले गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन शाखाकी कर्मचारी पुष्पा पौडेलले गरेकी थिइन् ।