शनिश्चरे । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा रहेका कृषकलाई प्रविधिमैत्री बनाउँदै कृषिउपजमा बृद्धि गर्ने उद्देश्यले शुक्रबार कृषि औजार वितरण गरेको छ ।

 

कृषिमा यन्त्रको प्रयोगबाट आधुनिकीकरण गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कृषकहरुलाई साना कृषि औजार वितरण गरिएको नगर प्रमुख बलदेवसिंह गोम्देनले बताए । कृषि पेसामा लाग्न प्रेरित गर्दै आयआर्जन गर्ने वातावरण सिर्जना गर्न पनि कृषकलाई औजार वितरण गरिएको उनको भनाइ थियो ।

 

कृषि विकास शाखाका अनुसार चालु आर्थिक वर्ष ०७९/०८०को स्वीकृत योजनाअनुसार साना फार्म मेसिनरी साझेदारी कार्यक्रम अन्तर्गत कृषक समूह, सहकारी र कृषि फार्मसहित जम्मा ४४ वटा संस्थालाई ५० प्रतिशत अनुदानमा उक्त औजारहरु वितरण गरिएको हो ।

 

उनीहरुलाई मकै छोडाउने मेसिन ३२ थान, कुटानी पिसानी मिल ११ थान, मिनी टिलर ९ थान, ब्रस कटर एक थान, पावर टिलर एक थान र हाते धान रोप्ने मेसिन एक थान वितरण गरिएको हो । उक्त औजारहरुको कुल लागत १४ लाख सात हजार पाँच सय रुपैयाँ रहेको छ ।

 

नगर प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेती, आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरिया, विपद् व्यवस्थापन संयोजक सन्तोष मेचे, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, शिक्षा शाखा प्रमुख ताेया रेग्मी लगायतले उक्त कृषि औजार वितरण गरेका थिए ।

 

वडा वडामा वितरण गरिने साना कृषि औजार नगरमै एकमुष्ठरुपमा वितरण गरिएको आर्थिक विकास समितिकी संयोजक चिमरियाले बताइन् । उनका अनुसार कृषि विकास शाखासँग मिलेर आर्थिक विकास समितिले कृृषक समूह, संस्थाको छनोट गरेको हो ।

 

कृषि औजार पाएपछि कोकोमेन्दो कृषक समूहका सचिव सन्तमान तामाङले नगरले उपलब्ध गराएको प्रविधिले उत्पादनमा बृद्धि हुने विश्वास व्यक्त गरे । उनले प्रविधिको गलत प्रयोग नगरी कृषि उत्पादनमै जोड दिने बताए । नगर प्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रम शाखाकी प्राविधिक उर्मिला राजवंशीले गरेकी थिइन् ।