शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ७६ करोड ११ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सभाहलमा आइतबार (आज) आयोजित १३औं नियमित अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

 

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देन तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा नगरकी उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले आगामी आवको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी थिइन् ।

 

नेपाल सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रमअन्तर्गत २८ करोड ३० लाख, नेपाल सरकारबाट हस्तान्तरित समपूरक अनुदान ९० लाख, नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदान १ करोड ४५ लाख र प्रदेश सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम २ करोड ४८ लाख ७५ हजार, प्रदेश सरकारबाट हस्तान्तरित समपूरक अनुदान १ करोड ३० लाख रुपैयाँ रहेको छ ।

 

त्यसैगरी समपूरक कोषमा ३ करोड, साँझेदारी कोषमा १ करोड ८० लाख, प्रस्तावनामा आधारित कार्यक्रम ४० लाख, जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालन गर्न ५० लाख, विपद् ब्यवस्थापन कोष ६० लाख, संघसंस्था प्रवर्द्धन कार्यक्रम ४० लाख, भूमि ब्यवस्थापन सम्बन्धि कार्यक्रमहरु ४५ लाख, नगर गौरवको आयोजनाहरु १ करोड १३ लाख, पूर्वाधार विकास सम्बन्धि कार्यक्रमहरु २ करोड ५५ लाख बजेट प्रस्तुत गरिएको छ ।

 

यसैगरी, सामाजिक विकास सम्बन्धि कार्यक्रमहरु ४ करोड ५५ लाख, आर्थिक विकास सम्बन्धि कार्यक्रमहरु १ करोड ८७ लाख, वातावरण तथा विपद् ब्यवस्थापन सम्बन्धि कार्यक्रमहरु ७५ लाख, सुशासन तथा संस्थागत विकास सम्बन्धि कार्यक्रमहरु ७८ लाख, वडास्तरीय योजनाहरु ९ करोड ९० लाख, प्रशासनिक खर्च १३ करोड ५ हजार गरी जम्मा ७६ करोड ११ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

 

आर्थिक बर्ष २०७९/०८० को ९७ करोड ८६ लाख ७६ हजार बराबरको संशोधनसहित बजेट स्वीकृत भएकोमा ब्ययतर्फ २०८० जेठ मसान्तसम्म पुँजीगततर्फ ६३.८४ प्रतिशत र चालुतर्फ ६७.५१ प्रतिशत तथा बित्तीयतर्फ सतप्रतिशत खर्च भइसकेको नगर उपप्रमुख पराजुलीले जानकारी दिइन् ।

 

कार्यक्रममा नगरकी प्रमुख प्रकाशकीय अधिकृतसहित ११ वटै वडाका वडाध्यक्ष तथा नगर सभा सदस्य, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो । यही असार १३ गते दिउँसो २ बजे बैठक बस्ने गरी १३औं नियमित अधिवेशन सम्पन्न भएको थियो ।