शनिश्चरे । झापाको अर्जुनधारामा ‘प्रथम अर्जुनधारा मिनी महोत्सव २०८०’ आजदेखि सुरु भएको छ । अजुृनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

 

अर्जुनधारा ८ स्थित नयाँ बजारमा सुरु भएको महोत्सवले व्यापारिक चहल पहलसँगै पर्यटनलाई समेत टेवा पुराउने नगर प्रमुख गोम्देनले बताए । झैँझगडा बिना महोत्सव सफल पार्न शुभकामना दिँदै उनले महोत्सवमा राष्ट्रिय कलाकार ल्याएर अर्जुनधाराको गरिमा उच्च राख्नसमेत सुझाव दिए ।

 

सयपत्री इन्टरटेन्डमेन्ट प्रालि झापाको ब्यवस्थापनमा संचालन हुने महोत्सवलाई शनिश्चरेको ब्रदर एण्ड सिस्टर जिम हाउसले आयोजना गरेको हो । आयोजक समितिका अध्यक्ष तुल श्रेष्ठको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिकाका ६, ८ र ११ नम्बर वडाका वडा अध्यक्षहरु हरिषचन्द्र वास्तोला, कुमार उप्रती र खगेन्द्र इङ्नामको उपस्थिति रहेको थियो ।

 

आयाजक समितिका कोषाध्यक्ष श्याम दनुवारले स्वागत मन्तव्य राखेको कार्यक्रममा अर्जुनधारा उघोग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्का, अर्जुनधारा ८ का वडाअध्यक्ष कुमार उप्रेतीले बर्खाको समयमा समेत चुनौती मोलेर महोत्सव संचालन गरेर बजारलाई चलायमान बनाउन खोज्नु सकरात्मक रहेको धारणा राखेका थिए ।

 

नयाँ बजारलाई चलायमान बनाउन, बजार ब्यवस्थापन र विपद् ब्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले १५ दिने महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ । महोत्सव असार २७ गतेसम्म चल्नेछ ।

 

महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारहरुले प्रस्तुति दिने बताइएको छ । प्रमोद खरेल, मेलिना राई, ज्योती मगर, एलिना चौहान र रचना रिमाललगायतका राष्ट्रिय कलाकारहरु आउने तय भएको सयपत्री इन्टरटेन्डमेन्ट प्रालिका सञ्चालक पर्वत लामाले बताए । महोत्सवमा मनोरञ्जनका लागि रोटेपिङ, ड्राइगन रेस लगायतका मनोरञ्जनातमक खेलहरु संचालन गरिएको छ ।