झापा । मानव स्वास्थ्यमा असर पर्ने सडेगलेका १४ क्वीन्टल भारतीय माछा झापा भित्र्याइएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वी नाका काँकडभिट्टामा कडाई गरिएपछि पर्साको रक्सोल नाकाबाट आयात गरिएको भारतीय माछा झापाको शिवसताक्षीमा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

 

ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी ल्याउँदै गर्दा हिजो दिउँसो १२ः५० बजे शिवसताक्षी नगरपालिका वडा नं। १० माईधारस्थित पूर्वपश्चिम राजमार्गमा अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्ने क्रममा आईसको कमी भई सडेगलेको रहु र कार्प जातको माछा अन्दाजी १४ क्वीन्टल नियन्त्रणमा लिएको थियो ।

 

पशु क्वारेन्टाइन कार्यालय गौरीगञ्जको प्राबिधिक टोलीले चेकजाँच गर्दा उक्त माछा मानव स्वास्थ्यमा असर पर्ने, खान अयोग्य रहेको भनी जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालय परिसरभित्र खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले आइसमै रहेका खानयोग्य माछा र गाडी छाडिएको जानकारी दिए ।

 

पर्सा रक्सोल नाकामा पशु क्वारेन्टाइन गराई भन्सार प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित माछा ल्याउने क्रममा हिजो बिहान ५ बजे सप्तरी खडक नगरपालिका वडा नं। ३ बनर्झुला गेटस्थित पूर्वपश्चिम राजमार्गमा माछा बोकेको मधेश प्रदेश ०३–००१ च ७५१० नम्बरको पिकअप गाडी आफैँ अनियन्त्रित भई पल्टिएको थियो । गाडी पल्टिँदा माछा, आइस छरपष्ट भएको र उक्त माछा पुनः ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी झापातर्फ ल्याइएको थियो ।