कुमरखोद (झापा) । झापा गाउँपालिकाको चिया बगानमा काम गर्ने मजदुरहरु आफूले श्रम गरेको ज्याला नपाएको भन्दै आन्दोलित भएका छन् । झापा गाउँपालिका वडा नं २ मा रहेको कुवाडी देवी टि इस्टेटमा काम गर्ने मजदुरहरुले ४ महिनादेखि ज्याला नपाएको भन्दै शुक्रबारदेखि काम ठप्प पारेका हुन् ।

 

चिया बगानले ४ महिनादेखि काम गरेको रकम नदिँदा घर खर्च चलाउन गाह्रो भएको मजदुरहरुले बताएका छन् । जबसम्म चिया बगानले हामी मजदुरहरुको काम गरेको रकम सबै भुक्तानी दिँदैन, तबसम्म चिया बगानमा काम नगर्ने अखिल नेपाल चिया मजदुर संघ कुवाडी देवी टि इस्टेट एकाई समितिकी अध्यक्ष सीता माझीले बताइन् ।

 

आफूहरुलाई चिया बगानले ज्याला भुक्तानी गर्न पटकपटक झुक्याउने गरेकोले अब कुवाडी देवी टि इस्टेटको मुख्य कार्यालय रहेको भद्रपुरमा आइतबार गएर घेराउ गर्ने माझीले बताइन् ।

 

कुवाडी देवी टि इस्टेटका मेनेजर रामजतन सिंहले भद्रपुरबाट रकम नपठाएकोले मजदुरलाई रकम भुक्तानी गर्न नसकेको स्वीकार गरेका छन् । उक्त चिया बगानमा १३० जना मजदुरहरुले काम गर्दै आएका छन् ।