झापा । पूर्वी नाका काँकरभिट्टामा एक सयभन्दा बढीको सामानमा भन्सार महसुल असुल गरिरहेकै अवस्थामा भन्सार छलेर भित्र्याइएको सवा करोडभन्दा बढीको सामान बोकेको कन्टेनर प्रहरीले बरामद गरेको छ ।
भन्सार छलेको सवा करोडभन्दा बढी मूल्यको सामान प्रहरीले बरामद गरेपछि नाकाबाट कसरी पार भयो भन्ने प्रश्न उब्जिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले शुक्रबार साँझ साढे ७ बजेतिर भन्सार नाकाभन्दा करिव ५०० मिटर पश्चिम पुरानो भन्सार क्षेत्रबाट कन्टेनर बरामद गरेको हो ।
कन्टेनरभित्र एक करोड २० लाखभन्दा बढी मूल्यको विभिन्न सामान भए पनि कुनै बिलबिजक र कर तिरेको प्रमाण नभेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए । शुक्रबार साँझ नियन्त्रणमा लिइएको ना २ ख ४९०२ नम्बरको मालवाहक कन्टेनरलाई इलाका प्रहरी कार्यालयमा सुरक्षित राखिएको थियो ।
आज बिहान सात बजेपछि मात्र कन्टेनर खोलेर सामान हेरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कन्टेनरमा चालक थिएनन् । कन्टेनर शिलबन्दी पनि थिएन । अबैधरुपमा भित्र्याइएको सामान कसको र कन्टेनर धनी को हो भन्ने प्रहरीले जानकारी दिएको छैन ।
कन्टेनरभित्र बौद्धमार्गीले बाद्यबादनको रुपमा प्रयोग गर्ने झ्याम्टा धेरै मात्रामा रहेको बताइएको छ भने साबुन, हुक्काको फ्लेवर लगायतका सामान पनि छन् । आवश्यक अनुसन्धानका लागि इटहरीको राजस्व अनुसन्धान कार्यालयलाई कन्टेनरसहित सामान बुझाइने बताइएको छ ।
एक सय रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउँदा भन्सार तिर्नुपर्ने नियम सरकारले लगाइरहेका बेला भन्सार छलेको करोडभन्दा बढीको एक कन्टेनर सामान बरामद भएपछि जनाक्रोश बढ्ने सम्भावना छ ।