काँकरभिट्टा । पुरानो भन्सारमा शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको ना २ ख ४९०२ नम्बरको कन्टेनर मेची भन्सार कार्यालय भित्रैबाट बाहिरिएको खुलासा भएको छ । यसअघि मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले पुरानो भन्सारमा बरामद भएको सामानसहितको कन्टेनर भन्सारभित्रबाट नआएको दावी गरेका थिए ।
सो कन्टेनरमा एक करोड एक लाख मूल्य बराबरको काँसको झ्याम्टा, हुक्काको कोइला, कालो साबुन लगायतका सामान थिए । मेची भन्सार कार्यालयले शनिबार साँझ विज्ञप्ति जारी गरी ती सामानसहितको कन्टेनर मेची भन्सारबाट शुक्रबार साँझ ६ः२५ बजे बाहिरिएको जानकारी दिएको छ ।
उक्त कन्टेनर भारतबाट आएको नभई नेपालतिरको गेटबाटै शुक्रबार दिउँसो १ः३२ बजेको समयमा भन्सारको यार्डभित्र छिरेको विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी, प्रहरीले नियन्त्रणमा लिएको सामानसहितको एउटा कन्टेनर भन्सार प्रक्रिया पूरा गरेर बाहिरिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ। कन्टेनर र त्यसभित्रको सामान भन्सार कार्यालय भित्रैबाट नियमित प्रक्रिया पूरा गरेर बाहिरिएको सो कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए।
‘उक्त कन्टेनर शुक्रबार दिउँसो १२ः३२ बजे नेपालतर्फबाट उक्त खाली कन्टेनर भन्सार परिसर प्रवेश गरेको थियो। सोही दिन सन्तोष खवास प्रोपाइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स नामबाट काँकरभिट्टासम्म लैजाने गरी भन्सार(एजेन्ट ढकेन्द्र कार्कीले भन्सार बुझाएको अभिलेख छ,’ लम्सालले भने।
कन्टेनरमा रहेको काँशको झ्याम्टा १२८१ जोडी, कालो साबुन २०० किलो र हुक्कामा प्रयोग हुने कोइला ३६० किलोको एक लाख ५६ हजार ७९० रूपैयाँ राजस्व बुझाएको उनले बताए।
भन्सार प्रक्रिया पूरा गरेपछि उक्त कन्टेनर शुक्रबार साँझ ६ः४० बजे भन्सार गेटबाट ‘एक्जिट नोट’ सहित बाहिरिएको भन्सार कार्यालयको अभिलेखबाट देखिएको पनि उनले बताए।
