इलाम । इलाम सदरमुकामको चिया बगानमा पुनः चियाको बिरुवा रोप्न थालिएको छ । इलाम नगरपालिकाको पहलमा पुराना बिरुवा मासिँदै जान थालेपछि नयाँ बिरुवा रोप्न थालिएको हो ।

 

झण्डै १६० वर्ष पहिले प्रथम राणा प्रधानमन्त्री जंगबहादुरका ज्वाइँ गजराज सिंह थापाले इलाममा चियाको बिरुवा रोपेको बताइएको छ । इलाम सदरमुकाममा चिया रोपणको लामो समयपछि चियाका बोट मरेर खाली भएको जमिनले चियाबारीको सौन्दर्य समेतलाई असर परिरहेको थियो ।

 

चियाका बोट बुढो हुँदै मर्न थालेपछि पुरानै जातका बिरुवा खोजेर रोप्न थालिएको हो । इलाम नगरपालिकाले सहरको सौन्दर्य र आर्थिक उपार्जनका लागि भन्दै चिया रोपण सुरु गरेको हो । नेपाल चिया विकास निगमले लिजमा दिएको कम्पनीले खाली भएको जमिनहरुमा पुरानै जातको चियाको १० हजार बिरुवा रोपिनेछ ।

 

इलाम नगरपालिकाका प्रमुख केदार थापाले खण्डहर बन्दै गएको बगानलाई पहिलेकै अवस्थामा फर्काउने उद्देश्यले चिया रोप्न थालिएको बताए । नगरपालिका क्षेत्रमा चिया बगान मासिँदै र पुराना हुँदै गएपछि नयाँ बिरुवा रोप्न थालिएको हो ।

 

चियाका लागि इलामले ख्याति कमाएका कारण पनि यसको खेती बिस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ । इमेज खबरबाट