इलामको पूर्वी सिमानाका पशुपतिनगरको गेट र ग्राहकको भिड ।

इलाम । भारतीय रुपियाँ (भारु) सटहीका लागि इलामको पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कले प्रक्रिया सुरु गरेको छ । वाणिज्य बैङ्कको विभागबाट भारतीय रुपियाँ सटही गर्न निर्देशनसहितको पत्र आएपछि आजबाट बैङ्कले प्रक्रिया थालेको हो ।

 

सटही काउन्टर सुरु गर्न केही विधि र नियमहरू रहेकाले अबको एक सातामा प्रक्रिया पूरा गरेर सटही सुरु गरिने पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख राजन चम्लागाईंले बताए । ‘आज सटही थाल्न पत्र आएको छ । हामीले प्रक्रिया पनि थाल्यौँ तर अझै कतिको कारोबार हुने, यहाँको भारतीय रुपियाँको अवस्था र स्थानीयको आवश्यकता सबै कुरा बुझेर त्यसको अवस्था विश्लेषण गरिन्छ’, चम्लागाईंले भने ।

 

 

उनका अनुसार माथिबाट पनि यहाँको अवस्थाअनुसार थप कार्यनीतिहरू आउँछन् अनि करिब साता दिनभित्र सटहीको काम सुरु गरिने भएको छ । हिजोमात्रै पशुपतिनगरमा सटही काउन्टर राख्न गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएको बताइएको छ ।

 

गभर्नर अधिकारीले भारतीय ५० र १०० रुपियाँका साना नोट साटेर नेपाली बनाउन वाणिज्य बैङ्कलाई निर्देशन दिएका थिए । पशुपतिनगरमा वर्षौँदेखि भारतीय रुपियाँ सटही बन्द हुँदा पूर्वी सिमावर्ती क्षेत्रका सर्वसाधारणले नेपाली रुपियाँको अभाव झेल्दै आएका थिए ।

 

 

यो क्षेत्रमा उत्पादित कृषिउपज, दुग्धजन्य पदार्थ बिक्री गर्नुपर्दा व्यापारीबाट किसानहरूले भारतीय रुपियाँ नै लिनुपर्ने बाध्यता थियो । गोरखापत्रबाट