दमक । दमक नगरपालिकाले सार्वजनिक स्थलको १ सय मिटरमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा बुधबारदेखि रोक लगाएको छ । यसको कार्यान्वनका लागि अनुगमन पनि सुरु गरिने र अटेर गर्नेलाई कारवाही गरिने सार्वजनिक सूचनामार्फत नगरपालिकाले जानकारी गराएको छ ।

 

दमक नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौलाका अनुसार शैक्षिक संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायतका आसपासको क्षेत्रमा पनि मादक पदार्थ र सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्नका लागि सचेत गराइएको छ ।

 

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १ सय मिटरभित्रको घर पसलबाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको उनले जानकारी दिए । सूचनाविपरीत मादक पदार्थ र सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि उनले बताए ।

 

यसैगरी, दमक नगरपालिकको शिक्षा शाखाले सबै विद्यालयलाई परिपत्र गर्दै यसको कार्यान्वयन गर्न निर्देशन दिएको छ । यसको कार्यान्वयन गराउन नगरभित्रका सबै सम्बन्धित विद्यालयलाई पत्राचार गर्दै निर्देशन दिएको हो । बजार तथा ग्रामीण क्षेत्रका अधिकांश विद्यालय अगाडि पसलबाट यस प्रकारका सामग्रीहरु बिक्री वितरण हुँदै आएको छ ।