झापा । झापाका सीमा नाकाबाट तस्करी गतिविधि मौलाएसँगै सशस्त्र प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा सशस्त्र प्रहरीले १२ घण्टाभित्र जिल्ला विभिन्न नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएका सामानसहित सवारीसाधन नियन्त्रणमा लिएको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सूचना अधिकारी डीएसपी दिनेश कटुवालका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दीपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले आइतबार राति ९ बजेको समयमा झापा गाउँपालिका ४ स्थित सुकुम्वासी बस्ती नजिकैको सीमा इलाकाको सन्थालबस्तीबाट ठुलो परिमाणको जुत्ता चप्पल बरामद गरेको छ ।

 

भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको ११ कार्टुन स्पोर्टस जुत्ता र चप्पल बरामद गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ तस्करहरु सामान छाडेर भागेका थिए ।

 

बरामद गरिएको विभिन्न ब्राण्डका २५४ जोर जुत्ता र २४५ जोर चप्पललाई अन्दाजी ४ लाख ४ हजार मूल्य तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ ।