सुनसरी । अर्गानिक बेसारको नाममा खुदीको पिठो र रङ मिसाएर बजारमा लैजाने तयारी भइरहेका बेला धरानका मिल सञ्चालक दम्पती र धनकुटाको साँगुरीगढीका एक जनालाई खाद्य अनुगमन टोलीले रंगेहात फेला पारेको छ ।
टोलीले धरान ११ विष्णु चोकस्थित चण्डेश्वरी कुटानी पिसानी मिलका सञ्चालक बर्खमान श्रेष्ठ, प्रमिला श्रेष्ठ र अजम सिंह राईलाई फोहोर भुइँमै बेसारमा खुदीको पिठो र अखाद्य रंग मिसावट मिसावट गरिरहेको अवस्थामा भेटेको हो ।
खाद्य ऐनविपरीत कसुर गरेकाले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) अनुसार दण्ड जरिवाना गर्ने निर्देशन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाले दिएको छ ।
धरान उपमहानगरपालिकाका खाद्य अनुगमन अधिकृत वेदप्रसाद सापकोटाकाअनुसार मिलमा ३ सय केजी बेसारमा ३ सय २८ केजी खुदी र सिन्थेटिक रङ मिसाएर ‘अर्गानिक बेसार’ बनाइरहेको अवस्थामा श्रेष्ठ दम्पती र राई भेटिएका थिए । मिलमा ४५ बोरामा करिब २ हजार किलो ‘अर्गानिक बेसार’ बजारमा पठाउने तयारी भएको पनि अनुगमन अधिकृत सापकोटाले बताए ।
‘अर्गानिक बेसारको नाममा खुदीका पिठो र सिन्थेटिक रङ मिसाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको देखियो‚’ उनले भने । टोलीले अनुगमन नगरेको भए यो साताभित्र मिल संचालकहरुले करिब २० लाख रुपैयाँ बराबरको मिसावटयुक्त बेसार बजारमा पुर्याउने तयारी रहेको खुलेको छ ।
चामलको कनिका (खुदी) बजारमा प्रतिकिलो ४० देखि ५० रुपैया पर्छ । खुदी जाँड-रक्सी पार्न, सुँगुर-बंगुर र गाईवस्तु, कुखुराको खोले चारो बनाउने काममा धेरै प्रयोग हुन्छ । मसला उद्योगले आधा बेसारमा आधा खुदी मिसाएर तयार गरेको ‘अर्गानिक बेसार’ प्रतिकिलो करिब ५ सय रुपैयाँमा बिक्री गर्ने गरेको खुलासा भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य निरीक्षक बादल चेम्जोङका अनुसार मिल सञ्चालकले बेसारमा खुदीसँगै अजन्ता ब्राण्डको ओरेन्ज रेड भन्ने रङ प्रयोग गरेको पाइएको थियो ।
मिसावट गर्नेलाई खाद्य ऐन अनुसार ५ वर्ष जेल र ५० हजार जरिवाना पनि गर्न सकिन्छ । तर यो प्रक्रिया लामो हुने भएकाले हाललाई जरिवाना मात्रै गराइएको उनले बताइन । बेसारमा प्रयोग गरिएको सिन्थेटिक रङ पकाउदा क्यान्सर गराउने तत्वमा परिणत हुने भएकाले पकाएर खाने चिजमा मापदण्ड विपरीत मिसावट गर्नु हुँदैन । इकान्तिपुरबाट