झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजल, मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

 

भारतबाट भाउ घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ ।

 

दशैँको मुखैमा पेट्रोलियम पदार्थको भाउ घट्दा उपभोक्तालाई केही भए पनि राहत भएको छ । यसअघि गएको १५ गते निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो तर चौतर्फी आलोचना भएपछि सरकारको निर्देशनमा निगमले मूल्यवृद्धि फिर्ता लिएको थियो ।

 

भारतबाट भाउ घटबढ भएका आधारमा नेपालमा पनि घटबढ हुनेगरी निगमले स्वचालित मूल्य प्रणाली लागू गरिरहेको छ ।