शारदा भुजेल, दोहा । कतारमा एमबिएल रेमिट बिहीबारदेखि शुरु भएको छ । कतारमा रहेका नेपालीमाझ शुरु भएको रेमिटले एक कार्यक्रम गरी आफ्नो सेवा शुभारम्भको घोषणा गरेको हो ।

 

नेपाली समुदायका विभिन्न क्षेत्रमा आवद्ध नेपालीलाई समेट्दै माछापुच्छ्रे बैंकका मध्यपूर्व व्यवसाय संयोजक सुजन सापकोटाले सेवा शुभारम्भको घोषणा गरेका हुन् ।

 

अलफरदान एक्स्चेन्जसंगको आपसी सम्झौतामा रेमिटले आफ्नो सेवा शुभाराम्भ गरेको सापकोटाले जानकारी दिए । विगत २३ वर्षदेखि पश्चिमाञ्चलको क वर्गको माछापुच्छ्रे बैंकले मध्यपूर्वका ४ वटा देशमा आफ्नो रेमिट बिस्तार गरेको हो ।

 

सबै नेपालीले छिटो र सरल तरिकाले आफ्नो घरमा आफ्नै नेपाली बैंकमार्फत पैसा पठाउने माध्यमका रुपमा एमबिएल रेमिटलाई कतारमा ल्याइएको हो । माछापुच्छ्रे बैंकको एमबिएल रेमिटमार्फत निरन्तर पैसा पठाउने श्रमिकलाई नेपालमा १० लाखसम्मको व्यावसायिक कर्जा सहुलियत दिइने पनि सापकोटाले जानकारी दिए ।

 

निरन्तर ५ महिनासम्म एमबिएल रेमिटमार्फत नेपाल पैसा पठाउने श्रमिकले २ लाखसम्मको क्रेडिट कार्ड पाउने बताइएको छ । उक्त क्रेडिट कार्ड नेपालमा रहेको परिवारले प्रयोग गर्न मिल्ने छ ।

 

माछापुच्छ्रे बैंकमा खाता खोलेका र विदेशमा रहेका व्यवसायीहरूलाई १५ हजार अमेरिकी डलरबराबरको डलर कार्ड सुविधा पनि उपलब्ध गराइने जनाइएको छ ।

 

संयोजक सापकोटाले कतारमा रहेका श्रमिकबीच बैंकिङ ज्ञानसंगै रेमिटको एप्लिकेसन प्रयोग लगायतका विषयमा क्याम्पियन गरिने पनि बताए । कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघ, नेपाल व्यवसायी संघ, बैचारिक संस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी तथा पत्रकारहरुले रेमिट शुभाराम्भको अवसरमा शुभकामना दिएका थिए ।