चारआली (झापा) । झापाको चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव २०८०’ हुने भएको छ । यही माघ ११ गतेदेखि २४ गतेसम्म महोत्सव हुनेछ ।

 

आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर १३ चारआलीले आज पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको हो । सोनाम, तमु र ग्याल्वो लोसार पर्वलाई एकीकृत रुपमा मनाएर जातीय एकता र आत्मियताको सन्देश दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गुम्बाका अध्यक्ष फुर्वा लामाले जानकारी दिए ।

 

गुम्बाको स्तरोन्नति र जेसीजको भवन निर्माण सहयोगार्थ महोत्सवको आयोजना गरिएको बताइएको छ । महोत्सव सम्पन्न गर्न कम्तिमा ३० लाख रुपैयाँ खर्च हुने आयोजक समितिका सचिव सोनमसिंह तामाङले बताए । चारआली जेसीज सहआयोजक रहेको छ ।

 

बौद्ध धर्म मान्ने शेर्पा, गुरुङ, तामाङ, मगर लगायत समुदायको सामुहिक सहभागिता रहने महोत्सवअन्तर्गत माघ २० गते भव्य सांस्कृतिक कार्यक्रमसहित सडक महोत्सव हुने जेसीजका अध्यक्ष भोजराज पराजुलीले बताए ।

 

महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै जातीय पहिरन प्रदर्शन गर्दै स्थानीय पर्यटन र कलाको प्रवर्धन गर्ने उद्देश्य लिइएको अध्यक्ष लामाले जनाए ।

 

उनका का अनुसार महोत्सवमा भारतीयसहित नेपाली राष्ट्रिय कलाकारले प्रस्तुति दिने छन् । भारतीय रियालिटी शो सारेगमप लिल च्याम्स सिजन ९ की विजेता सिक्किमकी जेसेन डोह्ना लामा महोत्सवमा आउने छिन् ।

 

त्यस्तै, नेपालका चर्चित गायकहरु सविन राई, राजेशपायल राई, एलिना चौहान, ज्योति मगर लगायतले महोत्सवमा सांगीतिक प्रस्तुति दिने छन् ।