शनिश्चरे । झापाको अर्जुनधारा ८ मा नयाँ कृषि बजारका लागि नवनिर्मित पूर्वाधारहरुमा कस्तो डिजाइनमा कसरी बजार सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको छ ।
अर्जुनधारा नगरपालिका र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को संयुक्त आयोजनामा आइतबार कृषि बजार पूर्वाधार सञ्चालनका अवसरहरुबारे कार्यशालामा छलफल भएको हो ।
जनप्रतिनिधि र सरोकारवालाहरुको संयुक्त सहभागितामा आयोजित छलफलमा कृषि अध्ययन भ्रमणबाट प्राप्त भएका विभिन्न कृषि बजार सञ्चालन मोडालिटीको अनुभव कृषि बजार अध्धयन टोलीका सदस्य एवम् अर्जुनधारा नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राईले प्रस्तुत गरेका थिए ।
यसैगरी, सुनसरीको दुहबीस्थित कृषि र पशु बजारको सञ्चालन अनुभव अध्यक्ष राजन केसी, धरानस्थित कृषि बजारको सञ्चालन अनुभव व्यवस्थापक लक्ष्मण भट्टराई र झापाको बिर्तामोडस्थित कृषि बजारको सञ्चालन अनुभव अध्यक्ष कमल पौडेलबाट प्रस्तुत गरेका थिए ।
बजार सञ्चालन गर्दा आउने चुनौती र अवसर, कृषि बजारबाट उपभोक्ताले लिने लाभ, व्यवसायी र कृषकले पाउने सुविधाका विषयमा कार्यशालामा छलफल भएको थियो ।
यसअघि शनिबार अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको नेतृत्वमा केसी, भट्टराईलगायतको टोलीले शनिश्चरे बजारको अवस्था, नयाँ कृषि बजारको क्षेत्रफल, भौतिक पूर्वाधारलगायतको सम्भाव्यता अध्ययन गरेको थियो ।
अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रममा ७१ जनाको सहभागिता रहेको थियो । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन कृषि विकास शाखाकी प्रमुख एञ्जिला बेडारीले गरेकी थिइन् ।