इलाम । इलाम नगरपालिका वडा नम्बर ५ मा रहेको धारपानी डेरी उद्योगमा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट ८६ लाख बराबरको क्षति भएको बताइएको छ ।

 

डेरी सञ्चालक घनेन्द्र मुखियाँका अनुसार छुर्पी सुकाउन बालिएको आगोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट डेरीका सबै मेशिनहरु नष्ट हुनका साथै २ हजार केजीभन्दा धेरै तयारी छुर्पी र घ्यू नष्ट भएको छ । आगलागी हुँदा दुई वटा घरमा रहेका सामग्री र छुर्पी नष्ट भएको हो ।

 

स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण लिइएकाले घर भने आगलागीबाट जोगिएको छ । घटनापछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रहरी प्रमुख बासुदेव खतिवडाले समेत घटनास्थलको निरीक्षण गरेका थिए ।